पारसलाई साक्षी राखेर ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए । झण्डै १८ वर्ष नेपाली क्रिकेटमा समय बिताएका मल्ल सन्यासपछि भावुक देखिए । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा एक सफल ब्याटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषण गरेका छन् । ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हन् । सन्यासको घोषणा गरेका ज्ञानेन्द्र भावुक समेत बने ।
ज्ञानेन्द्रले शुक्रबारदेखि नै लागू हुने गरि सन्न्यास लिएका हुन् । ज्ञानेन्द्रले सबै क्रिकेट करिअरबाट सन्न्यास लिएको बताउँदै घरेलु क्रिकेट पनि नखेल्ने बताएका छन् । पूर्वकप्तान पारस खड्काले सन्न्यासको लिएको दुई वर्ष पुगेको अर्काेदिन ज्ञानेन्द्रले नेपाली क्रिकेट टोलीबाट विश्राम लिने निर्णय गर्दा अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वकप्तान तथा ज्ञानेन्द्रका नजिकका साथी पारस खड्काले उनलाई नेपाली क्रिकेटलाई दिएको योगदानप्रति धन्यबाद ब्यक्त गरेका छन् ।
पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्रले सन् २०१९ देखी २०२१ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरेका थिए । सन् २००६ देखी नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध रह्यो । नेपाली क्रिकेट इतिहासका एक सफल टेक्निकल ब्याटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् । उनले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडआई खेलमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । ओडिआईमा ज्ञानेन्द्र अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् ।
ज्ञानेन्द्रले ४५ टि २० इन्टरनेशनल नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका थिए । नेपालबाट टि २० इन्टरनेशनलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले २०१९ मा मलेसियाविरुद्ध २० बलमै अर्धशतक प्रहार गरेका थिए । उनी अघि बिनोद भन्डारीले २५ बलमा अर्धशतक पूरा गरेका थिए । उनले १३ औं सागमा २०१९ मा भुटानविरुद्ध १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।
ज्ञानेन्द्र पछिल्लो समय भने टोलीमा कम मौका पाउँदै आएका थिए । गत फागुनमा उनको स्थानमा भीम सार्कीले राम्रो प्रदर्शन गरेपछि मल्लले टोलीमा कम अवसर पाएका थिए । लगातार कमजोर प्रदर्शनपछि ज्ञानेन्द्रले सन्यास लिने निर्णय लिएका हुन् । ज्ञानेन्द्रले टि २० इन्टरनेशनलमा कप्तानी गर्दा ९ मा जित र ३ खेलमा हार ब्यहोर्न पुगेका थिए ।
१० ओडिआई खेलमा कप्तानी गर्दा ६ मा जित र ४ मा हार थियो । ज्ञानेन्द्रले सन् २०१२ मा एसिसी ट्रफी इलिटमा साउदी अरेवियाविरुद्ध एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका थिए । सन् २०१४ को डिभिजन थ्रीमा उनले सिंगापुरविरुद्ध १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । २०१९ को १३ औं सागमा ज्ञानेन्द्र प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका थिए । नेपालले डिभिजन फाइभदेखी थ्री, २०१४ मा टि २० विश्वकप खेल्दा र २०१८ मा ओडिआई मान्यता पाउँदा ज्ञानेन्द्र टोलीका महत्वपूर्ण सदस्य थिए ।
ज्ञानेन्द्र नेपाली क्रिकेटले पाएको एक उत्कृष्ट टेक्निकल ब्याटरको रुपमा चिनिन्छन् । नेपाली क्रिकेट इतिहासकै एक उत्कृष्ट ब्याटर समेत रहेका मल्लको २०१७ पछि भने ब्याटिङक्रम अस्थिर बनेको थियो । ओपनिङ, शीर्ष र मध्यक्रम लगातार फेरबदल भईरहँदा त्यसको असर समेत खेलमा देखिएको थियो । ज्ञानेन्द्रले नेपालबाट यु १९ विश्वकप २००६ र २००८ मा खेलेका थिए । मल्लले सन्यास लिएपछि अब नेपाली क्रिकेटमा मल्लको पुस्ता समेत सकिएको छ ।
क्याटेगोरी : खेलकुद, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास, #ज्ञानेन्द्र मल्ल
तपाईको कमेन्ट लेख्नुहोस्