Techie IT
  • २२ वैशाख २०८२, सोमबार
KhojPatrika

२८ करोडका अपार्टमेन्ट अलपत्र,सरकारी बजेटको दुरुपयोग,कसैलाई छैन् वास्ता


काठमाडौं । नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवनको नजिकै चार सय मिटर दूरीमा कम्पाउन्डसहित बेग्लै खालका अपार्टमेन्टहरू देखिन्छन् । दुई वटै कम्पाउन्डभित्र पहेँलो रङका चार–चारवटा भवन छन् । प्रत्येक घर पाँच तले अनि एकै रूपका भएकाले अन्यभन्दा फरक अपार्टमेन्टभित्रका चार–चार सय वर्गफिटमा फैलिएका प्रत्येक कोठाहरु उस्तै अनि उत्रै छन् । झट्ट बाहिरबाट हेर्दा यी भवन आकर्षक लाग्छन् तर त्यहाँ मानिसको चहल पहल चाहिँ देखिँदैन । हो २०७१ सालमा निर्माण पूरा भइसकेर पनि अहिलेसम्म यी घर खाली नै छन । घरमा लगाइएको पहेँलो रङ खुइँलिँदै गएको देखिन्छ । भित्तामा कालो लेउ जमेको छ ।

कौसीबाट वर्षायामको पानी निकास गर्न जोडिएका पाइप पनि फुटेका छन् । भवनको कम्पाउन्डभित्र झारपातले ढाकेको छ । बाहिरी स्वरूप मात्र होइन, भवनको भित्री अवस्था पनि उस्तै छ । झ्याल अनि ढोकाका सिसा धुलाम्य छ । उप्किनै थालेको छ लगाइएको प्लास्टर पनि । अपार्टमेन्टहरूको ढोकाभित्र छिर्नेबित्तिकै साँघुरो ’प्यासेज’ देखिन्छ । मटानको देब्रेपट्टि ढोकासँगै जोडिएको शौचालय । त्यसको आडैमा भान्सा छ, जसमा भाँडा राख्ने एउटा ¥याक र केही सरसामान राख्न पुग्ने ठाउँ छ । बाँकी भागमा एउटा कोठा बनाइएको छ । एउटा सानो परिवार अटाउने गरी तयार भएको यो युनिट हेर्दा सुनसान अर्थात् भवन बेवारिसे भएका छन् ।

यी भवन काठमाडौं उपत्यकाभित्रका नदी किनारमा र विशेषगरी थापाथलीस्थित वाग्मती किनारामा बस्दै आएका सुकुम्बासीलाई स्थानान्तरण गर्नका लागि भनेर सरकारले बनाएको बनाएको थियो । सुकुम्बासीलाई सुरक्षित र व्यवस्थित बसोबास उपलब्ध गराउन २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले यी अपार्टमेन्ट निर्माण परियोजना सुरु गरेका थिए । भट्टराई सरकारले २०६८ साल कात्तिकमा सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि पुर्नस्थापना र व्यवस्थित बसोबासको अवधारणा ल्याएको थियो । तर, भवन ७ बर्षदेखि अलपत्र छन् । कोरोना महामारीको समयमा यी भवनमा नागार्जुन नगरपालिका र नेपाल चार्टर्स एकाउण्टेन संघले आइसुलेसन बनाएका थिए ।

कोरोना संक्रमण घट्दै गएपछि अहिले भवन खाली भैइसकेको छ । तर, भवनको ब्यवस्थापनमा कसैले ध्यान दिएको छैन् । थापाथली वाग्मती नदीकिनारको सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि भट्टराईको विशेष चासो र सक्रियतामा सुकुम्बासीकै लागि इचंगुमा ‘अपार्टमेन्ट’ तयार गरिएको हो । तर, त्यहा बसाल्न कसैले ध्यान दिएन । अपार्टमेन्ट बन्दै गर्दा डोजर चलाएर ध्वस्त पारिएको थापाथलीको सुकुम्बासी बस्तीमा पुरानै बासिन्दा फर्केर फेरि घर–टहरा बनाई बसे । अहिले त त्यहाँ स्थानीयले नै बस्ती बस्न नदिने भन्दै अडान लिइरहेका छन् ।

केही समयअघि सातै प्रदेशका मुख्यमन्त्री र संघका मन्त्रीहरूका लागि ललितपुरको भैंसेपाटीमा आवास निर्माण कार्य सुरु भइसकेको छ । ८५ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको अत्याधुनिक आवास दुई वर्षभित्र तयार गरिसक्ने गरी निर्माण सम्झौता भएको छ । तर, बनाइएको भवन भत्किनै लाग्दा पनि कसैको ध्यान दिएको छैन् । १ सय २७ युनिट रहेको भवनको तल्लो केही कोठामा प्रहरी र नागार्जुन नगरपालिका १ को वडा कार्यालय बसेका छन् । अरु सिंगै भवन खाली छ ।

वर्षामा बाढी र हिउँदमा जाडोको कहर काटिरहेका सुकुमबासी परिवारलाई सरकारले सहरी गरिब मान्न सकेको छैन । त्यसको प्रमाण हो, अहिलेसम्म ती अपार्टमेन्टमा राख्ने परिवार नै फेला पार्न सरकारले नसक्नु । नदी किनारमा बसेका सुकुमबासीलाई वर्षामा बाढी मात्र होइन, हिउँदमा जाडोको पनि डर छ । सरकारले डोजर चलाएर बस्ती नै उठाइदिने डर त बाह्रैमास छँदै छ । करिव २८ करोड खर्च गरेर बनाइएका भवन अलपत्र बनाइएको छ । पहिलो चरणमा चार रोपनी तीन आना एक पैसा एक दाममा तीनवटा पाँचतले भवन तयार भए । ती भवनमा एक सय २७ वटा आवास एकाइ छन्, जुन चैत ०७१ मै तयार भएका थिए ।

६ करोड ८१ लाख २३ हजार रुपैयाँ खर्च भएको ती भवनका हरेक एकाइमा एउटा परिवार बस्न सक्ने गरी बेडरुम, भान्सा, शौचालय, बैठक र बाल्कोनी बनाइएको छ । दोस्रो चरणमा तीन रोपनी ११ आना एक पैसा तीन दाममा सोही प्रकृतिका तीनवटा भवन बनाइयो । पाँच करोड ४४ लाख ११ हजार रुपैयाँ खर्चेर बनेका भवनमा एक सय परिवारलाई राख्ने योजना थियो  । यी भवनको निर्माण पनि आव ०७३÷७४ मै सकिएको हो । तर, राज्यले जसका लागि बनाइएका भवन हुन उनैलाई अहिलेसम्म थाहा छैन् । जसका कारण भवन त्यत्तिकै भत्किएर २८ करोड बालुवामा पानी हुने देखिन्छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अपार्टमेन्टहरू, #कम्पाउन्डभित्र झारपात

तपाईको कमेन्ट लेख्नुहोस्