प्रमुख समाचारब्रेकिंग न्युजशिक्षा स्वास्थ्यसमाचार

विश्वभर कोरोना खोपको लहर : के हो भाइरसविरुद्धको खोप ?

0

काठमाडौं । कोभिड–१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप यतिबेला विश्वभरि समुदाय स्तरमा खोप लगाउन थालिएको छ । खोपको प्रभावकारिता, असर र प्रयोगको उपयोगिता बारे विभिन्न कोणबाट बहस समेत भइरहेको छ । आखिर खोप के हो ? यसले कसरी रोकसँग लड्ने क्षमता विकास गर्छ त ? केही तथ्य यस्ता छन् ।
खोप के हो ?
खोपले भाइरस, रोग वा सङ्क्रमणसँग लड्न शरीरलाई तयार पार्दछ । शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्व पहिचान गर्न सघाउँने तथा एन्टीबडी उत्पादन गरेपछि धेरै बिरामी बनाउने सम्भावना कम गर्छ । तर यसले काम गर्ने क्रममा मानिसहरूले केही असरको भने अनुभव गर्न सक्छन् ।
खोप लगाउदा कति सुरक्षित ?
प्रारम्भिक चरणमा १० औँ शताब्दी तिर चिनियाँले खोपको अवधारणा पत्ता लगाएको पाइन्छ । तर सन् १७९६ मा एडवार्ड जेनेरले तुलनात्मक रूपमा सामान्य काउपोक्सको सङ्क्रमणले बिफरबाट जोगाउने उपायहरुबारे थाहा नपाउँदासम्म यसको विकास सम्भव देखिएन । दुई वर्षपछि उनले आफ्नो अवधारणाको परीक्षण गरेर तथ्याङ्क प्रकाशित गरेपछि यसको विकासक्रम सुरु भएको पाइन्छ । ल्याटीन शब्द भेक्काबाट विश्वभरि भ्याक्सिन भनी खोपको नामकरण भएको हो । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार २० वटा रोगहरूबाट जोगाउन र बर्सेनि २० देखि ३० लाख मानिसको मृत्यु रोक्न खोपलाई आधुनिक विश्वको एउटा महान् उपलब्धिको मान्ने गरिएको छ । किनकि बिरामी निको पार्न र उपचार गर्न प्रयोग हुने अधिकांश औषधिहरूभन्दा खोपले धेरै जीवन बचाउँछ ।

जोखिमहरू पनि हुन्छन् तर सबै औषधिहरू जस्तै जोखिमको तुलनामा खोपको लाभ निकै धेरै हुन्छ । करोडौँ मानिसको ज्यान लिएको बिफर अहिले खोपकै कारण पूर्ण रूपमा निर्मूल भइसकेको छ । विश्वव्यापी खोप अभियान सुरु भएको करिब ३० वर्षपछि अफ्रिकाले गत अगस्ट महिनामा मात्र पोलियोमुक्त घोषणा गर्यो। एउटा अभियान पुरा गर्न भने प्रकोप र रोगको अवस्था हेरेर केही समय लाग्नसक्छ । सामान्य अवस्थामा पुग्ने गरी कोभिड–१९ विरुद्ध विश्वभरिको जनसङ्ख्यालाई खोप दिन महिनौँ वा सम्भवतः केही वर्ष लाग्न सक्छ ।
खोपको विकास कसरी भयो ?
ब्याक्टेरिया, भाइरस, प्यारासाइट वा फङ्गसजस्ता रोगका कारक शरीरभित्र प्रवेश गरेपछि शरीरले त्योसँग लड्न एन्टीबडी उत्पादन गर्न थाल्छ । परम्परागत खोपले दैनिक क्रियाकलापमा किटाणुहरूसँग लड्नुअघि एन्टीजेनको कमजोर वा निष्क्रिय अंश मानिसको शरीरमा उत्पादन गरेर सहयोग गर्ने गर्दछ । प्रतिरक्षा प्रणालीलाई वास्तविक किटाणुसँग लडेको जस्तो कार्य गर्न खोप उपयोगी हुन्छ । फाइजर–बायोएनटेक र मोडेर्ना दुवै भाइरसको आनुवंशिक सङ्केतको रूपमा प्रयोग हुने म्यासेन्जर आरएनए –एम–आरएनए खोप हुन् ।

कमजोर वा निष्क्रिय एन्टीजेनलाई प्रयोग गर्नुको बदला यी खोपले एन्टीबडी बनाउन आवश्यक पर्ने प्रतिरोधी क्षमता सक्रिय तुल्याउन कोभिड–१९ को भाइरसको सतहमा भेटिने प्रोटिन तीव्र वृद्धि गराउँछ । अक्सफोर्ड–एस्ट्राजेनेका खोप भने अलिक फरक छन् । यही खोप नेपालमा भारतको सहयोगले आइपुगेको छ । वैज्ञानिकहरूले चिम्पान्जीहरूलाई सङ्क्रमित गर्ने सामान्य रुघाको भाइरसलाई परिवर्तन र कोभिड–१९ को अनुवांशिक सङ्केतका अंशलाई थप गरेर कोरोना विरुघको खोप विकास गरेका छन् ।

बेइजिङस्थित सिनोभ्याकले विकास गरेको कोरोनाभ्याक खोप चीन, सिंगापुर, मलेशिया, इन्डोनेसिया र फिलिपिन्समा लगाइँदै छ र त्यसमा मृत भाइरसको अंशको प्रयोगको परम्परागत विधि अपनाइएको पाइएको छ । टर्की र इन्डोनेसियामा गरिएको पछिल्लो परीक्षणबाट प्राप्त अन्तरिम तथ्याङ्कलाई लिएर त्यसको वास्तविक प्रभावकारितामाथि प्रश्न उठाइदैछ । भारतमा अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर एक्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड र स्थानीय भारत बायोटेकको कोभ्याक्सिन खोप विकास गरेर प्रयोगमा ल्याएको छ । रुसले भाइरसको परिवर्तित संस्करण प्रयोग गरिएको आफ्नै खोप स्पुतनिक भी उत्पादनसँगै प्रयोग गरिरहेको छ ।
खोप क–कस्लाई लगाउने ?
खोप सबैका लागि अनिवार्य हुँदैन । मेडिकल कारणले गर्दा लगाउन नहुने सानो सङ्ख्या बाहेक अधिकांशलाई लगाउदा प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन् । डब्ल्यूएचओले कोरोना भाइरसको संक्रमण रोक्न ६५ देखि ७० प्रतिशत मानिसहरूलाई खोपको खाँचो पर्ने अनुमान गरेको छ । बृद्धबृद्धा, दिर्घरोगी, संक्रमितसँग बारम्बार नजिक हुनुपर्नेहरुलाई खोपको बढी खाँचो पर्ने आँकलन गरिएको छ ।

आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ

Previous article

मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिए

Next article

You may also like