काठमाडौं । कोरोनाभाइरसबाट देशभर मंगलबार मात्रै थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ सय ४४ महिला र ७ सय २५ पुरुष गरी १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७ सय ६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८ सय ३२ र होम आइसोलेशनमा ७ हजार २ सय ८० जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परिक्षण गरिएको थियो ।