काठमाडौं । पर्साको वीरगन्जमा कोरोना संक्रमणले थप दुई जनाको मृत्यु भएको छ। पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहान मृत्यु भएको हो । मुटु , दम र उच्च रक्तचापका बिरामी रहेका उनमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो । भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार राति पनि वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का एक संक्रमितको मृत्यु भएको थियो । वीरगन्ज महानगरपालिका २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको थियो । मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषमा खोकी र स्वास प्रश्वासमा समस्या भएपछि भदौ ४ गते वीरगन्जकै तराई हस्पिटलमा लगेर भर्ना गरिएको थियो ।
दुवै मृगौलाले काम गर्न छाडेपछि डायलासिसको तयारी गर्दा गर्दै अवस्था झन् गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ।