प्रमुख समाचारब्रेकिंग न्युजसमाचार

कोरोनाले ठप्पै भएको आयस्रोत, बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न नपाउँदाको पीडा

0

काठमाडौं । प्रत्येक बर्ष बैशाखदेखि असारसम्म हजारौं मानिसहरुको घुइँचो लाग्ने पाटन, बुकी क्षेत्र यसबर्ष सुनसान भयो । विश्वमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि जोखिम कम गर्न लगाइएको लकडाउनले मानिसहरु बाहिर निष्किन पाएनन् । देशभरका मानिस तीन महिनाभित्र बस्दा कतिपयलाई उद्योग ब्यापार तथा ब्यवसायको चिन्ता लाग्यो । तर, हिमाली तथा पहाडी जिल्लाका सर्वसाधारणलाई भने पाटन तथा बुँकी क्षेत्रमा यार्सागुम्बा टिप्न नपाउँदा पिरलो लागेको छ । यार्सागुम्बा संकलन गर्न बर्सेनि पाटन पुग्नेहरूको आम्दानीको स्रोत ७५ प्रतिशत यार्सागुम्बा नै हुन्छ ।

रुकुम, जुम्ला, डोल्पा, मुगु, हुम्ला, दार्चुला, म्याग्दी, मनाङ, गोरखा, सिन्धुपाल्चोक, बझाङ, संखुवासभा र रसुवा जिल्लाका पाटन पुगेर प्रत्येक वर्ष वैशाखदेखि असारसम्म हजारौँ मानिसले यार्सागुम्बा टिप्दै आएका थिए । तर, यो बर्ष उनीहरुको आम्दानीको स्रोत नै बन्द भयो । एउटै परिवारका ४ ५ जना पाटन जाने र उनीहरूले कम्तीमा १० देखि १२ लाख रुपैयाँसम्म कमाएर वर्षभरिको खर्च जुटाउँदै आएका थिए । खासगरी यार्सागुम्बा पाइने क्षेत्रका मानिसहरुको मुख्य आयस्रोका रुपमा रहेको यार्सा टिप्न नपाउँदा दुखी भएका छन् । एकै सिजनामा राम्रो आम्दानी हुनेभएपछि घरमा एक जना मात्रै सदस्य बसेर सबै मानिसहरु बुकी तथा पाटन पुग्ने गर्दथे । बालबालिका, युवा मात्रै होइन बृद्धबृद्धा र छोराछोरी समेत बोकेर यार्सागुम्वा टिप्नेहरु लर्को लाग्ने गर्दथ्यो । तर, यसबर्ष यार्सा टिप्न नपाउँदा बर्षभरिको खर्च कसरी धान्ने भन्ने चिन्तामा स्थानीय रहेका छन् । नेपाल राष्ट्र बैंकको जानकारी अनुसार यार्सागुम्बा पाइने ११ जिल्लामा चार अर्ब ९२ करोड रुपैयाँको यार्सागुम्बा संकलन हुदै आएको छ । समुद्री सतहबाट ३ हजार ५ सयदेखि ५ हजार ५ सय मिटरसम्मको उचाइमा औषधिजन्य गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइन्छ । यार्सागुम्बाले निम्न आयस्तर भएका मानिसको आयस्तर वृद्धिसँगै जीवनस्तर सुधारमा पनि सहयोग पुर्याउदै आएको छ । यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन ।
के हो यार्सागुम्बा ?
यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ ।

माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् । विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, ब्रिटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ ।

नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर, पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागार्जुनको जंगल, गोकर्ण मनाङमा पाइन्छ ।
यार्सागुम्बाको उपयोगिता
संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोग योग्य र बहुमूल्य छैनन् । नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ ।

हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिबद्र्धक औषधिको रुपमा प्रयोग गरिन्छ । यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ । कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने बिश्वास छ ।

‘इनफ इज इनफ’ अभियानको अनशन स्थगित, सरकारसँग १२ बुँदे सहमति

Previous article

जिल्लामा कोरोना संक्रमित घटे, काठमाडौं उपत्यकामा बढे

Next article

You may also like