एसईईमा जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । ‘नतिजा एक महिनामा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन छ । त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको हो ।
जुन परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को ठाउँबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । अघिल्ला वर्षहरूमा गोप्यरुपमा परीक्षण केन्द्र तोक्ने गरिन्थ्यो । साथै एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने गरिएको थियो । यसपालि सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण हुन लागेको हो ।
यसअघि एसईईको नतिजा असार दोस्रो सातातिर सार्वजनिक हुने गरेको थियो । परीक्षा बोर्डले क्यालेन्डर बनाएर नतिजा सार्वजनिक गर्ने गरेको थियो । तर ढिलागरी नतिजा सार्वजनिक हुनेगरेको गुनासो आउने गरेको थियो । ढिला नतिजा आउँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नुका साथै ब्रीज कोर्स जस्ता कक्षा सञ्चालन गरेर विद्यार्थीलाई अनावश्यक तनाव दिने गरेको गुनासो आउने गरेको थियो ।
मन्त्रालयले एसईई पछिको ब्रीज कोर्सका कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।
बोर्डका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्