सहकारी बैंकको प्राविधिक सहयोगमा पर्ल्स अनुगमन तालिम सम्पन्न

काठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको वित्तीय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको दुई दिवसीय पर्ल्स अनुगमन तालिम मंगलवार सम्पन्न भएको छ । सहकारी संस्थाहरुको वित्तीय अवस्थालाई थप प्रभावकारी बनाउन, सुशासनयुक्त संस्था निर्माण तथा सहकारीको मर्म अनुसार अगाडि बढ्नका लागि सहकारी बैंकको प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सहकारी बैंकका पूर्व सञ्चालक तथा नगरपालिकाकी उप–प्रमुख सरिता तिमसिना (भट्टराई) ले तालिममा सिकेको सीप आफ्नो संस्थामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिइन । स्थानीय तह सञ्चालन ऐन आएपछि नगर मातहतका सहकारीको सञ्चालन, नियमन र अनुगमन निरन्तर नगरपालिकाले गर्ने गरेको बताउँदै केही सहकारी नियमनको क्षेत्रको दायरामा नआएको भन्दै उनीहरूलाई आउन अनुरोध गरिन ।
सहकारीको क्षमता विकास तालिमका कार्यक्रम बैंकसँगको सहकार्यमा निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दै उप–प्रमुख भट्टराईले सहकारीलाई सदस्यको उत्पादनसँग जोड्न नगरपालिकाले सकारात्मक भूमिका निर्वाह गर्ने बताइन । उनले सदस्यको पैसा सदस्यको हितमा परिचालन गर्नुपर्ने भन्दै सहकारीको चुस्त दुरुस्त व्यवस्थापनमा जोड दिइन । प्रशिक्षणका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलले सहकारी ऐन २०७४ जारी पछि देशभरका पालिका मध्ये वाट ऐन र नियमावली बनाएर कार्यान्वयन गर्ने पहिलो स्थानीय तह सुर्यविनायक नगरपालिका रहेको बताए । उनले नगरपालिका भित्र भएका सहकारी लाई थप व्यवस्थित गर्न नगरपालिकाको सहकारी शाखाले योजना बनाएर काम कार्य अघाडी बढाएको बताए ।
त्यस्तै नगरपालिकाको आर्थिक विकास समितिका अध्यक्ष पुष्पराज बस्नेतले आर्थिक विकास समितिले सहकारी , कृषि , पर्यटन उद्यमशीलता विकासको क्षेत्र हेर्न पर्ने भए पनि प्रत्यक्ष जनता सँग जोडिएकोले मसिनो ढङ्गबाट सहकारी हेर्नु पर्ने रहेछ भन्ने मेरो बुझाई रहेको भन्दै सोही अनुरूप छलफल गरि यो क्षेत्रलाई व्यवस्थित गर्ने समितिको योजना रहेको बताए । तालिमका सहभागीहरूले पर्ल्स अनुगमन तालिम प्रभावकारी भएको भन्दै संस्थाको उन्नतीका लागि उपयोग गर्ने बताएका छन् ।
तालिमको सहजकर्ता बैंकको तालिम विभागका अधिकृत बल्लभ तिमिल्सिनाले सुशासनयुक्त र प्रभावकारी सहकारी सञ्चालनका लागि पर्ल्स तालिम आवश्यक रहेको बताए । तालिमको उद्घाटन सोमबार नगरपालिकाका प्रमुख बासुदेव थापाले गरेका थिए । तालिममा विभिन्न विषयका सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा पदाधिकारीहरू सहित २९ जनाको सहभागिता रहेको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्