Techie IT
  • ११ असोज २०८०, बिहीबार
KhojPatrika

तिब्बतबाट भेडाच्याङ्ग्रा नआउँदा मुस्ताङवासीलाई फाइदा, यो बर्ष मात्रै कमाए ३५ करोड


काठमाडौं । मुस्ताङबाट यसपालिको दशैँ तिहारमा ३५ करोड रुपैयाँ बराबरको च्याङ्ग्रा निकासी भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार सरदर प्रति गोटा ३५ हजार रुपैयाँका दरले दश हजार च्याङ्ग्रा बेचेका किसानले ३५ करोड रुपैयाँ भित्र्याएका हुन् । दशैँमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङ्ग्रा निकासी भएको केन्द्रका प्रमुख दण्डपाणि सापकोटाले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गरेर निकासी गरेका आधारमा झन्डै दश हजार च्याङ्ग्रा बाहिरिएको तथ्याङक आएको हो । तिब्बतबाट भेडा च्याङग्रा नआएपछि विगतको तुलनामा झन्डै आधा सङ्ख्यामा भेडा्च्याङ्ग्रा निकासी भएको छ । अघिल्ला वर्षहरूमा २० देखि २५ हजारको सङ्ख्यामा भेडा,च्याङ्ग्रा निकासी हुँदै आएको थियो । यसवर्ष निकासी भएका धेरैजसो भेडा च्याङग्रा मुस्ताङकै रहेको छ । व्यापारीहरूले घटाएर विवरण दिने गरेकाले यो भन्दा बढी निकासी भएको हुनसक्ने केन्द्रका प्रमुख शर्माले बताए ।

पशु चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउँदा प्रति गोटा १५ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यो वर्ष तिब्बतबाट भेडा च्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरूले उत्पादन गरेका भेडा च्याङ्ग्राले माग नधान्ने भएपछि किसान र बीचका व्यापारीहरूले मूल्य बढाएका थिए । गत वर्षको तुलनामा मुस्ताङमै प्रति गोटा पाँचदेखि १० हजार रुपैयाँसम्म मूल्य बढेको व्यापारीहरूले जानकारी दिएका छन् ।

मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका ठाउँमा किसानले च्याङग्रा पाल्ने गरेका छन् । उच्च हिमाली भेगमा पालन गरिएका भेडा च्याङग्राले विशेषगरी लेकाली जडिबुटीहरू खाने भएकाले दशैँ तिहार जस्ता पर्वहरूमा पोसिलो मासुको रूपमा मुस्ताङका भेडा च्याङग्राको माग बढी हुने गरेको छ । च्याङ्ग्रालाई मासु खानका लागि योग्य बनाउन चारदेखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्याङ्ग्रा पालनको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको व्यवस्था समेत गरेको छ ।


क्याटेगोरी : अर्थ, खेती किसानी, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #भेडाच्याङ्ग्रा

तपाईको कमेन्ट लेख्नुहोस्