Techie IT
  • १६ असार २०८२, सोमबार
KhojPatrika

फेरि सल्बलाउँदै नेटवर्किङ धन्दामा ठगी, वाणिज्य विभागको अनुगमनबाट भेटिए यस्ता प्रमाण


काठमाडौं । नेटवर्किङ व्यवसायमार्फत हुनसक्ने ठगी र यस्ता कम्पनीको नियमनमा सरकारी संयन्त्र बलियो रुपमा उभिनन नसक्दा ठगहरु उहि रुपमा सल्बलाउन थालेका छन् । विगतकै ठगी मौलाउने गरि सिमित कम्पनीमार्फत सिण्डिकेट कायम गराउन खोजेको आरोप खेप्दैआएको वाणिज्य तथा आपूर्ती व्यवस्थापन विभाग अहिले अनुमती पाएका ९ वटा नेटवर्किङ कम्पनीलाई जवाफदेही बनाउने उद्देश्यले अनुगमनमा सक्रिय बनेको छ ।

प्रारम्भिक चरणमा ९ वटा कम्पनीको स्थलगत अनुगमन सम्पन्न गरेको विभाग अनुगमनप्रतिवेदन तयारीको चरणमा छ । विभाग कम्पनी दर्ताका क्रममा गरिएका प्रतिबद्धता र दिएको अनुमती बाहेकका गतिबिधि गर्ने जो कोहीलाई पनि कारबाही गर्ने बताउँछ । अनुगमनका क्रममा बिलबिजक, केही कागजात र बस्तुको नमुना संकलन गरेर आवश्यक अनुसन्धान गरिरहेको विभागले प्रारम्भिक चरणमा औँल्याएका

यस्ता छन विभागको अनुगमनबाट प्राप्त तथ्यहरुः
१) ५० प्रतिशत नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा अधिकांश बिदेशी नेटवर्किङ कम्पनीको सरसामान बिक्रि
२) बस्तुको व्यापारमा कानुनले ४२ प्रतिशतभन्दा बढी नहुनेगरि व्यवस्था गरेपनि धेरै गुणा बढी नाफा लिएर बस्तुको विक्रि वितरण भैरहेको
३) पिरामिड शैलीको नेटवर्क नबनाईएपनि ग्राहक बनाएर नेटवर्किङकै शैलीमा बिक्रिवितरण
४) रोजगारी सिर्जना लगायतका पुरा गराउन नसक्ने प्रतिबद्धता

 

यसरी वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ को व्यवस्था र कम्पनी दर्ताका समयमा गरिएका प्रतिबद्धता बिपरितका गतिबिधिमा नेटवर्किङ व्यवसायीहरु अग्रसर देखिएपछि बिभागले आफ्नो अनुगमनलाई तिब्रता दिएको पाइएको छ । छिट्टै अनुगमन प्रतिवेदन सार्वजनिक गरेर कैफियत भेटिएका कम्पनीमाथीको थप कारबाही अघि बढाउने तयारीमा विभाग जुटेको छ ।।

यी हुन वणिज्य विभागले अनुगमन गरेका ९ नेटवर्किङ कम्पनी
१ नेचर हर्बस इन्टरनेसनल प्रालि
२ न्यु विवेक इन्टरप्राइजेज प्रालि
३ हेल्दी लिभिङ नेपाल प्रालि
४ ग्लोबल ओरियन्स प्रालि
५ आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि
६ केयर मार्टस इन्टरप्राइजेज प्रालि
७ यु टर्न इन्टरनेसनल प्रालि
८अपि लाइफ इन्टरनेसनल प्रालि
९ केयर नेसन इन्टरनेसनल प्रालि

कम्पनीहरूले बिक्री गरेका वस्तुको खाता, बैंक स्टेटमेन्ट, बिक्री गर्न तयार राखिएका केही नमुनासमेत जफत गरेको विभाग इजाजत लिने क्रममा पेश गरिएका वस्तु, ती वस्तुहरूको मूल्य तल–माथि गरे÷नगरेको अध्ययन गरिरहेको बताउँछ । विभागका अनुसार हालसम्म कागजात जफत गरिएका ९ कम्पनीमध्ये केहीले बिक्री मूल्य उपलब्ध गराए पनि खरिद मूल्य दिएका छैनन् । बुधबार मात्रै आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालिबाट विभागले कागजात नियन्त्रणमा लिएको छ । आइबोसमा ३ जना सञ्चालक छन् । विगतमा ग्रिन बुटी ब्रान्डको नाममा कारोबार गरेका राज दंगाल ५ वर्षअघि गैरकानुनी नेटवर्किङ व्यवसायमा आवद्ध भएकै कारण पक्राउ परेका थिए । उनले अहिले श्रीमती सरिता गुनीको नाममा आइबोस ग्लोबल इन्टरनेसनलको इजाजत लिएका छन्  । प्रहरी सेवाबाट अवकाश पाएका पूर्वएआईजी हेमन्तबहादुर पाल पनि आइबोसमा देखिएका छन् । हर्बोमा रहँदा सबैभन्दा बढी ग्राहक ठगी गरेको गुनासो र उजूरी परेका श्रीबल्लभ नेपाल आइबोसका अर्का सञ्चालक रहेका छन् ।

कागजात जफत गरिएको अर्को कम्पनी केयर मार्ट्स इन्टरप्राइजेजमा पासाङ लामा, सरला लामा, दिनेशप्रसाद अधिकारी र दलबहादुर सारु ४ जना सञ्चालकका रुपमा देखिएका छन् । पासाङ पुरानै कम्पनीमा काम गरिरहेका नेटवर्क लिडर हुन । यु टर्न इन्टरनेसनल प्रालिमा सञ्चालक बलराम सुवेदी, सुवास केसी र अर्जुन गिरी ईएमआई (नेटवर्क) भनिने पुरानै कम्पनीको टिमका सदस्य हुन । अपि लाइफ इन्टरनेसनल प्रालिका सञ्चालकमा रामबहादुर बिसी, उपबहादुर पाइजा पुन, लेपबहादुर पुर्जा पुन र सन्देश खड्का छन् । भर्खरै कारोबारको सुरुवात गर्न थालेको केयर नेसन इन्टरनेसनल प्रालिबाट पनि केही कागजात जफत भएको छ । बिनिता गुरुङ, रुद्रबहादुर न्यौपाने, फणीराज लोहनी, कैरव अधिकारी, खगेन्द्र दाहाल र विष्णुप्रसाद काफ्ले यसका सञ्चालकका रुपमा रहेका छन् । लोहनी डगीमा मुछिएको युनिटीमा लिडर समेत हुन । प्रारम्भिक अनुसन्धानमा नेटवर्किङ कम्पनीमा प्रत्यक्ष देखी अप्रत्यक्ष रुपमा राजनीतिक नेतादेखि प्रहरी र प्रशासनका पूर्वअधिकारी समेतको संलग्नता देखिएको छ ।

प्रत्यक्ष वस्तुको बिक्रीको इजाजत पाए पनि नेटवर्किङ कारोबार गरिरहेको खुलेपछि अनुगमन हुने हल्लासँगै नेचर हर्ब्स इन्टरनेसनल प्रालिका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी राई) ले कम्पनीको ९० हजार कित्ता सेयर कम्पनी दर्ताका बेला साक्षी बसेका कुमार रम्तेललाई बिक्री गरेको पाइएको छ । राई र रम्तेल दुवै विगतमा नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको हर्बो इन्टरनेसनलमा संलग्न व्यक्ति हुन । उनीहरुले सेयर बिक्रिका क्रममा विभागबाट अनुमति समेत लिएको देखिदैन ।

१० हजार कित्ता सेयर रामबहादुर खनाललाई बिक्री गरिएको छ । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) हाल डाइरेक्ट सेलिङ एसोसिएसनका अध्यक्षसमेत रहेका छविलाल जोशीको नाममा यो सेयर भएको भनिएपनि विभागमा रहेको कुनैपनि कागजातमा उनको सेयर देखिएको छैन । रपनि उनी नेटवकिङ कम्पनीहरुको संगठनका अध्यक्ष छन् । गत साउनमा समेत विभागले कैफियत भेटिएपछि नेचर हर्ब्सलाई स्पष्टीकरण सोधेको थियो । कम्पनीले इजाजत लिनुअघि नै पिरामिड शैलीको कार्य, विज्ञापन र प्रशिक्षण गरेको पाइएको थियो । अहिले विभागले पुनः अनुसन्धान अघि बढाएको छ ।

विभागले छापामारी कागजात ल्याएको अर्को कम्पनी हेल्दी लिभिङ नेपाल प्रालि भारतीय भेस्टिज कम्पनी हो । नेपालमा प्रतिबन्ध हुँदा पनि यो कम्पनी अनेक नामबाट निर्बाध रुपमा सञ्चालनमा थियो । यसका सञ्चालक टेम्पा शेर्पा र रिद्धि आनन्द शिल्पकार हुन । ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालक वसन्त पन्डित हुन । उनी विगतमा गोल्डक्वेस्टमा आबद्ध थिए । ग्लोबलमा ईश्वरीप्रसाद दुवाडी, सुमित गौतम, स्मीता थपलिया र ज्योति आचार्य सञ्चालकका रुपमा छन् । न्यु विवेक इन्टरप्राइजेज प्रालिका सञ्चालक मुक्तिसेन गुरुङ र भीमसेन गुरुङ हुन उनीहरूले डिएक्सएनको नाममा विगतदेखि नै सामान बिक्री गर्दै आएका थिए । यी नेटवर्किङ कम्पनीलाई विभाग आफैंले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ कार्यान्वयन गरेको भन्दै पर्याप्त अध्ययनबिनै इजाजत दिएको थियो ।

विगतमा युनिटी, हर्बो, गोल्डक्वेस्टलगायतले विभिन्न प्रकृतिका नेटवर्किङ व्यवसायका माध्यमबाट सर्वसाधारणलाई ठगी गर्दै आएका थिए । यी कम्पनीबाट ठगिएको भन्दै हजारौंले क्षतिपूर्तिवापत् ५ करोड रुपैयाँ माग्दै तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा मागदाबी गरेका थिए । नेटवर्किङ कम्पनीको पुँजीभन्दा क्षतिपूर्ति मागदाबी बढी भएपछि यससम्बन्धी उजुरी नै गुपचुप पारिएको छ । फेरि तिनै कम्पनीहरूमा संलग्न व्यक्तिले नै आफ्नो वा परिवारका नामबाट नयाँ कम्पनी दर्ताको निवेदन दिएर कम्पनी खोल्ने अग्रसरता देखाएपनि यसको छानबिनबिनै इजाजत दिइएको यसअघि नै खुलेको थियो ।

इजाजत पाएका यस्ता कम्पनीमा विगतमा नेटवर्किङ धन्दामा संलग्न व्यक्ति रहेको आलोचनापछि संसदीय समितिले यसमा चासो देखाएको थियो । समितिले नियमावली संशोधनसहित १८ सुझाव सिफारिस गरेको थियो । तर इजाजत पाएका कम्पनीहरू विगतमा नेटवर्किङ धन्दामा संलग्न भए-नभएको अध्ययन भएन । पछिल्लो समय विभागको जिम्मेवारी प्रकाश पौडेलले सम्हालेपछि अनुसन्धान सुरु भएको छ । अनुगमन हुने र प्रतिवेदन आउने यत्तिकै सेलाउने विगतले निरन्तरता पाउने होइन, यो पटकको अनुगमन प्रतिवेदन कार्यान्वयनमा आओस्, नेटवर्किङका नाममा ठगहरु सल्बलाउने अवस्थाको अन्त्य होस् ।


क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #नेटवर्किङ व्यवसायमा

तपाईको कमेन्ट लेख्नुहोस्