Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

अस्मिता पब्लिसर एण्ड डिस्टीब्यूटर्सको बद्मासी, अनुमति विनै पुस्तक छपाई

सार्वजनिक सरोकारको बिषयमा पाठ्यक्रम विकास केन्द्रको गोप्य पत्र


काठमाडौं । कुनै पनि पाठ्यपुस्तक छपाई गर्नुपूर्व पाठ्यक्रम विकास केन्द्रबाट अनुमतिसँगै स्विकृती लिनुपर्ने हुन्छ । तर, केन्द्रबाट अनुमति पाउनुअघि नै अस्मिता पब्लिसर एण्ड डिस्टीब्यूटर्स प्रालीले भने आफ्नो प्रकाशनका कक्षा १२ का अधिकांश पाठ्यपुस्तकहरु धमाधम छपाई गरिरहेको छ । कक्षा १२ का पाठ्यपुस्तक छपाईका लागि कुनै पनि प्रकाशन गृहलाई पाठ्यक्रम विकास केन्द्रले अहिलेसम्म अनुमति दिएको छैन । कतिपय पुस्तक प्रकाशक, वितरक अनि छापाखानाहरु केन्द्रको अनुमतिको पर्खाइमा बसिरहँदा अस्मिता पब्लिसर एण्ड डिस्टीब्यूटर्सले भने केही दिन अघिदेखी नै उपत्यकाका विभिन्न छापाखाना मार्फत धमाधम कक्षा १२ का पुस्तकहरु छापिरहेको छ ।

काठमाडौंको सानेपामा रहेको बंगलामुखी प्रिन्टिङ प्रेस अनि सामाखुसीस्थित खरिबोटमा रहेको प्यासिफिक प्रिन्टिङ प्रेसमा धमाधम छपाई भइरहेको छ । दुईवटा प्रेसबाट किताबको गाता र भित्रि पृष्ठमा रहने पाठ्य सामाग्रीहरुको धमाधम प्रकाशन भइरहेको छ । छापाखानाले अस्मिता प्रकाशनबाट आएको पाठ्य सामाग्रीहरु आफूहरुले छपाई गरेको दाबी गरिरहेका छन् । तर यी सामाग्रीहरु छपाईका लागि सरकारी तहबाट अर्थात पाठ्यक्रम विकास केन्द्रबाट अहिलेसम्म अनुमति प्राप्त भएको छैन ।

अनुमति दिनुभन्दा पहिला नै अस्मिता पब्लिसर एण्ड डिस्टीब्यूटर्स प्रालि मार्फत काठमाडौंका केही छापाखानामा भैरहेको कक्षा १२ का पाठ्यपुस्तक छपाईका दृश्यहरुले पाठ्यक्रम विकास केन्द्र, अस्मिता प्रकाशनसँगै केही छापाखानाको ठूलै सेटिङ र सिण्डिकेट पुस्तक छपाईमा चल्दै त छैन भन्ने गम्भिर आशंका उब्जाएको छ । हामीले अनुमतिपूर्व नै भैरहेको कक्षा १२ को पाठ्यपुस्तक छपाई बारे छापाखाना सञ्चालकसँग जवाफ माग्यौँ, उनीहरु भन्दैथिए, अनुमति पाए नपाएको बारे आफूहरुलाई थाहा हुने कुरै भएन, अस्मिता प्रकाशनले पठायो, आफ्नो छाप्ने काम पुरा गरेका हौँ ।
अस्मिता पब्लिसर एण्ड डिस्टीब्यूटर्सलाई गोप्य रुपमा पत्र
अनुमति विना कक्षा १२ को पाठ्य सामाग्री छपाई गर्ने प्रकाशन गृहलाई पाठ्यक्रम विकास केन्द्रले गोप्य रुपमा पत्र पठाएको छ । अस्मिता पब्लिकेशन एन्ड डिस्ट्री ब्युटरर्सले सरकारी ऐन कानून मिचेर बलजप्ती पुस्तक छपाई गरी बजारमा विक्रीवितरण गरिरहेको खबर बाहिरिएपछि पाठ्यक्रम विकास केन्द्रले गोप्य रुपमा पत्र पठाएको हो । केन्द्रले आइतबार बजार अनुगमन थालेको र उक्त अनुगमनमा अस्मिता प्रकाशन एन्ड डिस्ट्री ब्युटर्सको डिपो तथा विभिन्न छापाखानाहरुबाट विभिन्न विषयका पाठ्यसामाग्रीहरु अवैध रुपमा छपाई गरेको फेला पारेको थियो ।

केन्द्रको अनुगमन टोलीले अस्मिताको डिपोबाट छापा मारेर अवैध रुपमा छापिएका पुस्तकहरु जफत गरेको बताइएको छ । उक्त प्रकाशन गृहले भौतिक विज्ञान,अर्थ शास्त्र,गणित,रसायन शास्त्र लगायत अन्य थुप्रै विषयका पुस्तकहरु छापिरहेको थियो । ‘पाठ्यक्रम विकास केन्द्रले अहिलेसम्म कुनै पनि निजी प्रकाशन गृहहरुलाई कक्षा १२ को पुस्तक छपाईको लागि अनुमति दिएको छैन । अनिवार्य किताब नेपाली, अंग्रेजी , गणित र समाजक अध्ययनको पाठ्यपुस्तक छपाईको काम जनक शिक्षा सामाग्री केन्द्रले गर्छ । तर, अझै केन्द्रले समेत स्वीकृति पाएको छैन ।

हाल केन्द्रमा ६१ प्रकाशन गृहहरुले २६ विषयको लागि ४ सय ५० पाठ्यसामाग्री छपाईको लागि निवेदन दिएका छन् । धेरै जसो किताबहरु नयाँ पाठ्यक्रमअनुसार मेल नखाएकोले सुधारको लागि फर्काइएको तर सुधारको लागि भनी फर्काइएका किताब नै प्रकाशन गृहले पाठ्य सामाग्रीको रुपमा बिना स्वीकृति छपाई गरेको पाइएको हो । कक्षा ११को परीक्षा असार अन्तसम्म विद्यालयहरुले सिध्याएका छन् । साउनदेखि कक्षा १२ को नयाँ शैक्षिक सत्र सुरु भएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अनुमति विनै पुस्तक छपाई, #अस्मिता पब्लिसर एण्ड डिस्टीब्यूटर्स, #पाठ्यक्रम विकास केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्