ईपीएस पास गरेका श्रमिकलाई तत्काल कोरिया पठाउन संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले ईपीएस परीक्षा पास गरेर अलपत्र परेका श्रमिकलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबारको बैठकले ईपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
ईपीएस परीक्षा पास गरेर बसेका करिब १० हजार श्रमिक दक्षिण कोरिया जानबाट बन्चित भएको पठाउन सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी परेको थियो। समितिका सभापति रामनारायण बिडारीले अलपत्र परेकाहरुको उजुरीको सुनुवाई गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिइएको जानकारी दिए । बैठकमा समितिका सदस्य खिमलाल देवकोटाले सबै प्रक्रिया पूरा गरेका श्रमिकलाई अझै दक्षिण कोरिया नपठाएर सरकारले निर्लज्जता प्रकट गरेको भन्दै आपत्ति जनाएका थिए ।
यस्तै, समितिका अर्का सदस्य राधेश्याम अधिकारीले उडान, खोप सबैको तत्काल व्यवस्था गरी इपिएर पास गरेर रोकिएकाहरुलाई दक्षिण कोरिया पठाउने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्य सचिव शंकरदास बैरागीले आवश्यक प्रक्रिया पूरा गरी ईपीएस परीक्षा पास गरेकाहरुलाई छिटो दक्षिण कोरिया पठाउन समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।
कोरोना संकटका कारण समयमै कामका लागि दक्षिण कोरिया पठाउने प्रक्रियामा ढिलाई भएको समितिका सदस्यहरुलाई मुख्यसचिव बैरागीले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खोप, उडानका लागि प्लेनको आवश्यक व्यवस्था मिलाउन नसक्दा ईपीएस परीक्षा पास गरेर पनि श्रमिकहरुलाई दक्षिण कोरिया पठाउने काममा ढिलाई भएको स्पष्टिकरण दिए । यी सबै समस्या समाधान गर्ने कामलाई अघि बढाइएको समेत सचिव गौतमले जानकारी दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #ईपीएस परीक्षा पास, #दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्