सरकारले किन रोक्न लाग्यो लोकसेवा आयोगको परिक्षा

काठमाडौं २१ बैशाख । सरकारले लोकसेवा आयोगबाट खुला गरिने बिज्ञापन केही समयका लागि रोक्ने भन्दै लोकसेवा आयोगमा पत्राचार गरेको छ । लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावले कर्मचारी छनौट प्रक्रिया नै बन्द गर्ने गरी आयोगमा पत्राचार गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै लोक सेवा आयोगलाई अर्को व्यवस्था नभएसम्मका लागि नयाँ कर्मचारी पदपूर्ति नगर्न भनी पत्राचार गरेपछि लोकसेवा तयारी गरिरहेका बिद्यार्थी मर्कामा परेका छन् । रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न पत्रमा उल्लेख गरिएको छ । यही वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयमा पुनः संगठन तथा व्यवस्थापन ओएनएम सर्भे र अत्यावश्यक सेवा बाहेकका कर्मचारी भर्ना नगर्ने उल्लेख छ । यो निर्णयसँगै निजामती सेवा, सार्वजनिक संस्थान, संगठित संस्था र सुरक्षा निकायमा कर्मचारी पदपूर्ति प्रक्रिया अब रोकिन लागेको हो । पत्रमा कर्मचारी पदपूर्ति रोक्नुपर्नाको कारण भने खुलाइएको छैन । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको ४१ औं दिन पुग्यो । त्यसलगत्तै लोक सेवा आयोगले अनिश्चितकालका लागि लिखित तथा अन्तर्वार्ताका सबै परीक्षा स्थगित गरेको छ । पहिलो चरणको लिखित परीक्षा पास गरिसकेका अधिकृत, सुब्बा लगायत पदका परीक्षार्थीहरु प्रभावित भएका छन् । अन्तर्वार्ता लिन मात्र बाँकी रहेको सहसचिवको परीक्षा पनि रोकिएको छ । यी परीक्षा के गर्ने भन्ने कुरा मन्त्रिपरिषदको निर्णयमा स्पस्ट खुलाइएको छैन । लोक सेवा आयोगले पनि यसबारे औपचारिक निर्णय गरिसकेको छैन । लोकसेवा आयोगले भने एक चरणको परीक्षा भइसकेकालाई स्थगित गर्न नमिल्ने जनाएको छ । यसबारे लोकसेवा आयोगले कुनै जानकारी दिएको छैन् । सरकारको यो निर्णयसँगै लोकसेवा आयोगको तयारी गरिरहेका बिद्यार्थीलाई ठूलो असर परेको छ । कतिपयको त उमेर हद नै काट्ने भएपछि थप चिन्ता थपिदिएको छ । कहिलेसम्म खुल्ने र कुन–कुन बिज्ञापन नखोल्ने भन्ने स्पष्ट नहुँदा उनीहरुमा चिन्ता थपिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, लाेकसेवा/जागिर, समाचार
ट्याग : #लोकसेवा आयोगको परिक्षा
तपाईको कमेन्ट लेख्नुहोस्