Techie IT
  • ८ चैत्र २०८२, आईतबार
KhojPatrika

रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता भएको छ । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन पनि गरे ।

‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु,’ लामिछानेले भने ।

उनले प्रधानमन्त्री कार्कीको प्रशसां गर्दै मुलुकले सधैं सम्झिरहने पनि बताए । साथै, आगामी दिनमा निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको पनि अपेक्षा राखेको लामिछानेले प्रधानमनत्री कार्कीसमक्ष बताए । ‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो ।

विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ । सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ । यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ।

हामी पनि सम्झिइरहनेछौं । आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ। तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ ।’

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् । ‘अहिले देश रोएको छ । तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् । तपाईंहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ ।

चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ । विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ ।’ भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं