तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा
काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताएका छन् । इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो बताएका हुन् ।
सन्देश भने उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत पढेर सुनाइएको थियो । अमेरिका र इजरायलले फेब्रुअरी अन्तिम साता हवाई आक्रमण गर्दा इरानका अघिल्ला सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी मारिएका थिए । त्यसपछि उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता नियुक्त गरिएको थियो ।
सर्वोच्च नेता बनेपछि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै तस्बिर वा भिडियो पनि बाहिर आएको छैन । तर उनको सन्देश भनेर इरानको सरकारी टेलिभिजनमा एक जना प्रस्तोताले पढेर सुनाएका थिए । सन्देशमा उनले अमेरिका र इजरायलसँगको युद्धमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ बताएका छन् । साथै छिमेकी देशहरूलाई आफ्नो भूमिमा अमेरिकी सैन्य अड्डा सञ्चालन गर्न नदिन चेतावनी पनि दिएका छन् ।
आफ्नो पहिलो सार्वजनिक सन्देशमा खामेनेईले स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्नु इरानका लागि ‘रणनीतिक दबाबको साधन’ भएको बताएका छन् । उनका अनुसार यो क्षेत्र यस्तो स्थान हो जहाँ ‘शत्रु अत्यन्त कमजोर’ छ । उनले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाएर आक्रमण जारी राख्ने पनि बताएका छन् ।
इरानले छिमेकी मुलुकहरूसँग ‘मैत्रीपूर्ण सम्बन्ध’ राख्ने नीति अपनाएको भन्दै उनले ती देशहरूलाई अमेरिकी सैन्य अड्डा बन्द गर्न आग्रह गरेका छन् । ‘हामी १५ वटा छिमेकी देशसँग स्थल वा समुद्री सीमा जोडिएका छौं र सधैं उनीहरूसँग सकारात्मक सम्बन्ध चाहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘तर हाम्रो देशमाथि आक्रमण गर्ने र हाम्रा नागरिकको हत्या गर्ने पक्षप्रति उनीहरूले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । म उनीहरूलाई अमेरिकी अड्डा यथाशीघ्र बन्द गर्न सुझाव दिन्छु ।’
क्याटेगोरी : राजनीति, विदेश, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्