रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्राइमरी इलेक्सनका नाममा पैसा उठाइएको र फिर्ता नगरीएको भन्दै असन्तुष्टि बढ्दै गएको छ । प्राइमरी इलेक्सन गर्ने भनी उम्मेदवार बन्न चाहनेहरुबाट पैसा उठाइएको तर, प्राइमरी इलेक्सन नै नगरीएको भन्दै असन्तुष्टि बढ्दै गएको हो ।
रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन् । पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि पार्टी छाडेको उनले बताएका छन् ।रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका थिए । तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो ।
लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गरेका व्यक्ति हुन् । उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।
समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिने भ्रष्टाचारको नयाँ तरिका भएको आरोप कुँवरको छ । ‘म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ, रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जीसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले दुई लाख रुपैयाँ खर्च गरेर आएर उम्मेदवार सिफारिस पनि भएँ, प्राइमरी इलेक्सन हुन्छ भन्ने विश्वासमा रहेँ । तर भएन,’ कुँवरले भने, ‘रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका हो ।’
बुधबार पनि रास्वपाका नेता प्रणयशमशेर राणाले पार्टीले प्रारम्भिक निर्वाचनको नाममा आर्थिक अपारदर्शी काम गरेको बताएका थिए । रास्वपाबाट काठमाडौं–५ मा अघिल्लोपटक उम्मेदवार बनेका र यसपटक पनि छनोट प्रक्रियामा सहभागी राणाले प्रारम्भिक मतदानको विधि अनुसार उम्मेदवार छनोट नभएको हुँदा शुल्क फिर्ता गर्न माग गरेका थिए ।
रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार हुन इच्छुकका लागि प्रति व्यक्ति २५ हजार र समानुपातिकमा समावेश गर्ने भन्दै ५० हजार रुपैयाँ शुल्क लिने गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्