राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा राजा र जेन–जीसहितको नवीन समझदारीको माग गर्दै सडक आन्दोलन गर्ने भएको छ । आन्दोलनको कमाण्ड गर्ने जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीले पाएका छन् । आन्दोलनको समग्र तयारी र रणनीति निर्माणका लागि पार्टीले विशेष आन्दोलन परिचालन समिति गठन गर्दै त्यसको नेतृत्व शाहीलाई सुम्पेको हो ।
अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको पत्र दिएका छन् । पत्रअनुसार समितिमा प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रवीन्द्र प्रताप शाह र सह–महामन्त्री धनबहादुर बुढा सदस्यका रूपमा चयन भएका छन् । समितिको पहिलो बैठकमा अध्यक्ष लिङ्देन स्वयं उपस्थित रहेर आन्दोलनका एजेन्डा तथा व्यवस्थापनबारे निर्देशन दिएका थिए ।
बैठकमा २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण, संगठित र संख्यात्मक रूपमा प्रभावशाली बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल भएको थियो । बैठकमा सहभागी नेताहरूका अनुसार जेन–जी आन्दोलनपछिको ताजा परिस्थितिले राजनीतिक दल, युवापुस्तादेखि राजासंस्थाका बीच नयाँ प्रकारको सहमतिको आवश्यकता देखिएको र त्यसकै लागि राप्रपाले दबाबपूर्ण जन–आन्दोलनको मार्ग रोजेको बताइएको छ ।
राजसंस्थासहितको स्थायी राजनीतिक संरचना निर्माण नगरेसम्म अस्थिरता अन्त्य नहुने राप्रपाले निष्कर्ष निकालेको छ । राप्रपाले यही मंसिर १३ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी पाँच बुँदे ज्ञापनपत्र बुझाइसकेको छ ।
ज्ञापनपत्रमा आगामी निर्वाचनअघि नै सर्वपक्षीय सहमति निर्माण गर्ने, दलहरूबीच विश्वसनीय संवाद, संवैधानिक संरचनामा सुधार, राष्ट्रको स्थिरताका लागि व्यापक सहमति, र भविष्यमा आन्दोलन आवश्यक नपर्ने गरी राजनीतिक मार्गचित्र बनाउने आदि माग समावेश छन् ।
आगामी मंसिर २३ को कार्यक्रमलाई राप्रपाले जेन–जी, राजनीतिक दल र राजाबीच नयाँ ‘नवीन समझदारी’ निर्माणको लागि ऐतिहासिक दबाब–कार्यक्रमका रूपमा लिएको छ । जनसहभागिता, नेतृत्वको उपस्थिति, संगठनगत संरचनाको पूर्ण परिचालन र ६ जिल्लाबाट समन्वित रूपमा मोबिलाइजेसन गर्ने तयारी तीव्र भइरहेको बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वानः ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’
- २सरकारले निर्वाचनको वातावरण बनाओस्ः प्रगतिशील लोकतान्त्रिक पार्टी
- ३राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
- ४सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- ५पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्