भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ । राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सन्देशमा उनले भनेका छन्– “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ ।
नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मिति भौतिक संरचना प्रमुख रहेका छन् । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान आकृष्ट गराउँदछु ।”,
नेपाल सरकारले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणको अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सम्पन्न गरिसकेको र बाँकी रहेका कामहरु सम्पन्न गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको उल्लेख गर्दै उनले सन्देशमा पुनर्निर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधि प्रयोग गरिएकामा खुसी व्यक्त गरे । उनले पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्