Techie IT
  • २० कात्तिक २०८१, मंगलबार
KhojPatrika

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सराय नाचको रौनक !


काठमाडौं । लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, प्यूठान र पाल्पाका विभिन्न कोतघर र देवीका शक्तिपीठहरुमा हतियार जुधाएर नाच्ने सराय नाच सुरु भएको छ । यस क्षेत्रका ऐतिहासिक कोतघर, दुर्गा र कालिका मन्दिरहरूमा दसैंसँगै सराय नाचको विशेष महत्व छ । दसैंको टीकाको भोलीपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाचिन्छ ।

राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको जनविश्वास छ । सराय नाचको छुट्टै महत्व र विजय उत्सवको इतिहास रहेको स्थानीय बताउछन् । चन्द्रकोट मन्दिरमा बाईसे र चौबीसे राजा बस्ने समयदेखि दसैंको कोजाग्रत पूर्णिमाका दिन सराय नाच्दै दसैंलाई बिदा गर्ने परम्परा छ ।

पहिलाका राजाहरूले युद्ध मन पराउने भएकाले त्यसको अभिनय गरी दसैं बिदाइका बेला राजालाई देखाउने गरी नाच सुरु भएको किम्बदन्ती छ । विभिन्न जिल्लामा सराय फरक तरिकाले नाच्ने गरिन्छ । मठ, मन्दिरहरूमा पञ्चेबाजाको तालमा नाच्ने गरिन्छ भने कोतहरूमा हतियार जुधाएर, पशु बलि दिएपछि टाउको हातमा लिएर ‘वाख्यै हा’ गर्दै नाच्दै घटस्थापनाको दिन घरघरमा राखेको जमरा र दसैंको टिका खोला र पोखरीमा बगाएर बिर्सजन गरिन्छ ।

कतिपय कोतमा भजनकीर्तन गर्दै सराय नाच्ने चलन छ । त्यस्तै अहिले गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट बसाई सर्नेहरुले बुटवलमा पनि दसैंको टिका लगत्तै सराय नाच्ने गर्दछन् । पहिले पहाडी जिल्लामा मनाइने यो नाच अहिले तराईका जिल्लाहरुमा पनि सुरु भएको छ । दैत्य र दानवहरूमाथि देवी–देवताले विजय हासिल गरेपछि त्यही खुसीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान सुरु भएको किंवदन्ती छ ।

खासगरी बहुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि यो संस्कार सुरु भएको हुन सक्छ । सराय नाच विशेष गरी दसैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच पनि हो । यो गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, प्यूठान, दाङ जस्ता विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नाचको रौनक, #लुम्बिनी प्रदेश, #सराय नाच

तपाईको कमेन्ट लेख्नुहोस्