Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

संसदमा नेताहरुको गीत गाएरै दोहोरी, तिमीले पराई ठानेपछि पराई हुन के भयो र !


काठमाडौं । सध्रैं भाषणमै आरोप–प्रत्यारोपमा उत्रिने नेताहरु पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा भने संसदमै गीत गाएर ब्याटल खेल्न थालेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समिकरणमा सहमति भएपछि सांसदहरुबीच गीतबाटै जुहारी चल्न थालेको छ । सत्ता परिवर्तनमा हस्ताक्षर भएपछिको पहिलो बैठक आइतबार र दोस्रो बैठक सोमबार प्रतिनिधि सभामा गीतले प्राथमिकता पायो र नेताहरुले टुक्का मिलाउन थाले ।

एमाले र माओवादी केन्द्रका सांसदहरूले एक अर्को पार्टीको नेतृत्वबारे टिप्पणी गर्दा गीतका अन्तरा नै सुनाएर ब्यङग्य गर्न मैदानमा उत्रिए । तर, राजनीतिक व्यङ्ग्यवाणका निम्ति पछिल्लो राजनीतिक घटनाक्रममा गीतको अन्तरा सुनाउने सुरुवातकर्ता स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै हुन । प्रचण्ड नेतृत्वको सरकारको प्रमुख सत्तारुढ दल एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यसपछि एमालेबाट मन्त्री भएकाहरू राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गएका बेला प्रधानमन्त्री प्रचण्डले गीत नै सुनाएका थिए ।

एमाले मन्त्रीहरूको राजीनामा बुझेपछि प्रधानमन्त्री प्रचण्डले यादव खरेलले लेखेको र फत्तेमान राजभण्डारीले गाएको गीतको अन्तरा सुनाए– ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले ‘।’ सत्ता फेरिनुलाई एमालेका सांसदहरू प्रचण्डलाई र माओवादीका सांसदहरू केपी ओलीलाई ‘गलत पात्र’का रूपमा देखाउने प्रयास गरिरहेका छन् ।

सोमबार प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अञ्जु पन्तले गाएको गीत सुनाए– तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ? ‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई अञ्जु पन्तको एउटा गीत स्मरण गराउन चाहान्छु– तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’ प्रमुख सचेतक बर्तौलाले भने ।

गीतको अन्तरासँगै बर्तौलाले साहित्यक भाषाहरूकै शब्द प्रयोग गर्दै प्रधानमन्त्री प्रचण्डलाई आरोपित गर्ने प्रयास गरे । माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले एमालेलाई भेटाएको साथी कस्तो हो ख्याल गर्न सुझाए । यसका लागि उनले गोही र पण्डितको कथा सुनाए । यो कथाभन्दा अगाडि उनले आफ्नो पार्टी आफ्नै तरिकाले अगाडि बढ्ने बताए । यसका लागि कुन्ती मोक्तानको गीतको अन्तरा सुनाए– ‘कति जल्छौ आरिसले अझै जल्दै गर, म त हिंड्छु आफ्नै बाटो खुट्टा तान्दै गर, रे ग रे सा सा रे ग रे सा ‘’ यो गीतको अन्तराको व्याख्या गर्दै उनले सरकार बन्ने र ढल्ने प्रक्रिया स्वाभाविक भएको बताए ।

‘संसदीय राजनीतिमा सरकार बन्ने र ढल्ने प्रक्रिया स्वाभाविक हो । जोसँग मिल्छ त्योसँग गठबन्धन हुन्छ,’ उनले भने । कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्वमा जान लागेका एमाले अध्यक्ष ओलीलाई सांकेतिक रूपमा सम्बोधन गर्दै माओवादी सांसद घर्ती मगरले फेरि मुरलीधरको गीतको अन्तरा सुनाए । ‘‘ उडायो सपना सबै हुरीले ।’ भन्ने गीत कहिलेकाहीँ चरितार्थ नबनोस् म यो कामना गर्न चाहन्छु ।’ आइतबार नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस र एमाले मिलेपछि प्रधानमन्त्री प्रचण्ड कमजोर भएको भन्न रामकृष्ण ढकालको गीतको अन्तरा सुनाएका थिए ।

गीतकार आनन्द अधिकारी र संगीतकार न्ह्यू बज्राचार्य र गायक रामकृष्ण ढकालको गीतका अन्तरताहरू उनले सुनाएका थिए ।
ओराली लागेको हरिणको चाल भयो, बाँचुञ्चेलसम्म पनि मरेकै हाल भयो, छल गर्‍यो मायाले ‘।
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पा’को, माया त रहेछ धारिलो छुरा रेटिनै पर्‍यो नि ?, रेटिनै पर्‍यो नि ? ‘
बासै उठाउने कस्तो यो खेल भो‘
जीवनमा धेरैधेरै धेरैनै झेल भो, छलल गर्‍यो मायाले ।
सबैको देख्छु– हाँसी र खुसी, शिखरको बाटोमा
आफ्नो त बरै, भाग्य नै फाट्यो मायाकै फाटोमा
दुई चारै दिनको त्यो मृगतृष्णा के देख्न पर्‍यो नि
झिरैमा उनेको माछी झैँ हाल भो,
जीन्दगीदेखि अब खुसी नै पार भो, छलफल गर्‍यो मायाले ‘

कांग्रेसका सांसद शर्माले गीतका यी अन्तराहरू प्रधानमन्त्री प्रचण्डलाई समर्पित गर्न चाहेको बताए । संसदमा एकपछि अर्को गीतका अन्तरा नियमित सुनिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सोमबार बोल्दै ‘संसदमा नाच नै हेर्न पाइने हो कि’ भनेर व्यङ्ग्य गरिन् । ‘आजकाल सदन रोचक भएको छ ।

कविता सुनिन्छ, गीत सुनिन्छ । कुनैदिन अगाडि नाच पनि हेर्न पाइएला ‘ ? उनले भनिन् । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले संसदमा दोहोरी नै चलेको टिप्पणी गरे । यस्तैमा आफूहरूको पाँच वर्षे कार्यकाल ने सकिने हो कि भन्ने चिन्ता पनि उनले प्रकट गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गाएरै दोहोरी, #तिमीले पराई ठानेपछि

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं