Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

निरा पाण्डेको हत्या भएको १० दिनपछि पक्राउ परे विनोद, सुनको सिक्रीकै लागि हत्या !


काठमाडौं । काठमाडौंको कपनमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । घटनाको १० दिनपछि प्रहरीले झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा धुलाबारीका विकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार निराको हत्या गरेको पाँच दिनपछि उनी झापा पुगेका थिए । पक्राउ परेका विक विगतमा झापा र काठमाडौंको ठमेलका विभिन्न क्लबमा बाउन्सरको काम गर्ने गरेको खुलेको छ । प्रहरीका अनुसार विकले पाण्डेले लगाएको सुनको सिक्री लुट्न खोज्दा उनले प्रतिकार गरेपछि हत्या गरेको खुलेको छ ।

हत्या गर्ने क्रममा विकले आचार्यको पसलमै भएको चक्कु प्रयोग गरेका थिए । विकले हत्या गरेको चक्कु भने खोलामा फालेको बयान प्रहरीलाई दिएका छन् । प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा हत्यारा पत्ता लगाउन सफल भएको जानकारी दिएको छ । प्रहरीका अनुसार हत्या स्वीकार गरेका विकमाथि थप अनुसन्धानको काम शुरु भएको छ । सीआइवी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली झापा पुगेर शनिबार उनलाई काठमाडौं ल्याएको हो ।
कसरी गरे हत्या ?
प्रहरीका अनुसार हत्या आरोपी विक भक्तपुरको लोकन्थली बस्ने गरेको खुलेको छ । वैशाख ७ गते दिउँसो पौने ३ बजे पाण्डेको हत्या गरेर टेम्पो चढेर काठमाडौंको चावहिलनजिकसम्म आएका उनी मोटरसाइकल चढेर आफु बस्ने कोठामा पुगेका थिए । उनी बस्ने कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ ।

घटनाको दिन विक लोकन्थलीबाट सात बजे बस चढेर चावहिल पुगेको र त्यहाँबाट पाण्डेको पसलमा पुगेका थिए । सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकाल्ने बहानामा पसलबाट बाहिर निस्किएका उनी १०÷१५ मिनेटपछि दिउँसो पौने तिन बजे फेरि पसलमै पुगेका थिए ।

प्रहरीका अनुसार विकले निराले लगाएको सिक्रीका साथै पसलबाट ११/१२ सय रुपैयाँ लुटेका थिए । बिकले लुटेको सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको र प्रहरीले उक्त सिक्रि समेत बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान शुरु भएको र अनुसन्धानबाट थप कुरा खुल्दै जाने प्रहरीले जनाएको छ । घटनाको १० दिनसम्म पनि अभियुक्त पक्राउ गर्न नसकेको भन्दै पाण्डेका आफन्त र व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौंको कपन, #निरा पाण्डे आचार्य, #भाँडा पसल सञ्चालन

तपाईको कमेन्ट लेख्नुहोस्