Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

चितवन क्षेत्र नम्बर दुई मा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी


काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ अहिले चुनावमय भएको छ । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १० वटा वडा चितवन क्षेत्र नं २ मा पर्दछन् । चितवनमा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवी लामिछाने चुनावी मैदानमा होमिएका कारण पनि यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । कांग्रेसका श्रेष्ठ र एमालेका न्यौपाने प्रतिनिधिसभा निर्वाचनमा नयाँ अनुहार हुन् भने रास्वपा सभापति लामिछाने दोस्रो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका श्रेष्ठले औपचारिक रुपमा घरदैलो कार्यक्रम नै सुरु गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै विद्रोह गरेका चितवनका कांग्रेस नेताहरू केन्द्रीय सदस्य दिनेश कोइराला, चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर तामाङ र महासमिति सदस्य मिना खरेलले संयुक्त विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा भने कांग्रेसका पक्षमा उभिएका छन् । श्रेष्ठले लामिछानेको नागरिकता तथा राहदानी मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाउदै घरदैलो अभियान चलाइरहेका छन् ।

चितवन नेताहरूको परिक्षण गर्ने थलो नभएको जिकिर गर्दै यो पटक आफूले भारी मतले जित्ने दाबी उनको छ । रास्वपा सभापति लामिछाने पनि उम्मेदवारी दर्तासँगै घरदैलोलाई तिब्रता दिएका छन् । राजनीतिमा शुद्धता ल्याउन र नेपालमै रोजगारी सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । यसपटक पनि चुनाव जित्नेमा आफू पूर्ण विश्वस्त रहेको उनको दाबी छ । नागरिकता प्रकरणमा दोषी ठहर गर्दै सर्वोच्च अदालते उनको सांसद, पार्टी सभापति र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त गरेपछि योपटक जनमत विभाजित हुने एमाले लगायतका दलहरुको बुझाई छ ।

त्यस्तै उनको दलका सांसद ढाकाप्रसाद श्रेष्ठ मन्त्री बन्नको लागी २ करोड डिल गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाको मत अझ खस्कीएको नेताहरु बताउछन् । यस अघि मंसिर ४ को निर्वाचनमा भारी मतान्तरका साथ विजयी भएका लामिछानेले तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए । लामिछानेले ४९ हजार तीन सय मत पाएका थिए भने कांग्रेसका श्रेष्ठले जम्मा १४ हजार ९८८ र एमालेका पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । यसक्षेत्रमा गत मंसिरको निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले नै सबैभन्दा बढी मत पाएको थियो । तर, बदलिएको राजनीतिक समिकरण र पार्टीले खेलेको भूमिकाका कारण निर्वाचनमा कसले बाजी मार्ने हो त्यो भने बैशाख १० को निर्वाचनपछि मात्रै थाहा हुनेछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चितवन निर्वाचन क्षेत्र नम्बर २, #चुनावमय

तपाईको कमेन्ट लेख्नुहोस्