कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई शुक्रबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै बुधबार पत्र पठाएका हुन् ।
‘नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम मैले मलाई प्रदेश सभामा विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकोले आवश्यक व्यवस्था मिलाई दिन अनुरोध गर्दछु’ मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको छ ।
मुख्यमन्त्री बन्दा समर्थन गरेको राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिन लागेका हुन् । गत पुस २७ गते नेकपा एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
माघ ६ गते विश्वसको मत लिएका शर्मालाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी २५ सांसदले विश्वासको मत दिएका थिए । तर, राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पूरानै गठबन्धन ब्युँतिएपछि राप्रपाले माग १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो ।
कर्णाली प्रदेशमा नेपाली कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका एक एक जना सांसद छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्