तराई–मधेशमा आज होली,जनकपुरधाममा महामूर्ख सम्मेलन
काठमाडौं । तराई–मधेश क्षेत्रमा मंगलबार होली पर्व मनाइँदैछ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन रही आएको छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ।
तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ। तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर, शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ। होलीका वेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ। यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ।
रैथाने परिकारले समेत यो पर्वमा रौनक थप्छन्। पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ । यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको मानिन्छ ।
यी प्रसंगलाई खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ। होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा मंगलबार सार्वजनिक बिदा दिएको छ।
यस्तै, जनकपुरमा होलीका अवसरमा महामूर्ख सम्मेलन हुँदैछ। दुई दिवसीय होली महोत्सवअन्तर्गत हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको छ। महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा रहेको छ । कार्यक्रममा मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गर्ने गरिन्छ ।
अघिल्लो वर्ष ‘महामूर्ख’को उपाधि मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई प्रदान गरिएको थियो। २०६१ मा जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । दुईदिवसीय होरी महोत्सवअन्तर्गत सोमबार जोगिरा गीत प्रतियोगिता सम्पन्न भएको छ। होली महोत्सवमा सहभागी भएका होरैया टोलीलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्ने बताइएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तराई–मधेश क्षेत्र, #तराई–मधेशमा होली
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्