सुरु भयो रवि लामिछानेको दोहोरो राहदानी लिएको आरोपबारे छानविन !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले छानबिन सुरु गरेको छ । युवराज पौडेल (सफल) ले मंगलबार दिएको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीको विषयमा छानबिन सुरु गरेको हो ।
लामिछानेको राहदानीका विषयमा छानबिन गर्न कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागबाट कागजात माग गरेको छ । लामिछानेले झुटो विवरण दिई राहदानी लिएको भन्दै पौडेलले पाँच वर्ष कैदको माग गर्दै उजुरी दिएपछि कार्यालयले तीनवटै निकायलाई पत्राचार गरेर कागजात माग गरेको हो । ती कार्यालयबाट आएको जवाफका आधारमा सरकारी वकिलको कार्यालयले थप प्रक्रिया अघि बढाउने बताइको छ ।
नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि माघ १३ मा लामिछानेले प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएका थिए । अमेरिकाको राहदानी र नागरिकता हुँदाको बखत नै नेपाली राहदानी लिएको भन्दै लामिछानेमाथि कारबाही गर्न माग गर्दै पौडेलले दिएको निवेदन प्रहरीले दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेका थिए ।
कागजातको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले लामिछानेमाथि मुद्दा चलाउनु पर्ने नपर्ने निर्क्योल गर्नेछ । यदि मुद्दा चलाउनुपर्ने भएमा प्रहरीलाई दर्ता गरी आवश्यक अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले निर्देशन दिनेछ । रविले नागरिकताको बिषयमा सर्बोच्चबाट फैसला आएपछि पत्रकार सम्मेलन नै गरेर असन्तुष्टी जनाएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दोहोरो राहदानी, #रवि लामिछाने
तपाईको कमेन्ट लेख्नुहोस्