Techie IT
  • ९ असार २०८१, शनिबार
KhojPatrika

सहकारीमा बढ्दो संकट, बचतकर्ताको विचल्ली, सरोकारवाला निकाय गैरजिम्मेवार


काठमाडौं । विश्वासको संकट गहिरिएसँगै काठमाडौं उपत्यकाका सहकारीहरु एकपछि अर्को गर्दै धरासायी बनिरहेका छन् । ललितपुरको कुमारी पार्टीमा प्रधान कार्यालय रहेको गुडविल होस वा ललितपुरकै सातदोेबाटोमा मुख्य कार्यालय रहेको देउराली अनि कालिमाटीमा प्रधान कार्यालय रहेको गौतम श्री, वा नेकपा एमालेका तत्कालिन सांसद इच्छाराज तामाङले डुबाएको सिभिल सहकारी ।

पछिल्लो समय एकपछि अर्को गर्दै सहकारीहरु संकट उन्मुख बनिरहेका छन् । यी समस्याग्रस्त सहकारी जस्तै काठमाडौंको चाबहिलमा प्रधान कार्यालय रहेको कुमारी सेभिङ एण्ड क्रेडिट को—अपरेटिभमा समेत यतिबेला समस्याग्रस्त बनेको छ । सहकारीमा सिमित सञ्चालकले गर्दैआएको मनोमानीकै अहिले बचतकर्ताहरु आफूले राखेर रकम समेत सहज रुपमा नपाउने अवस्थामा छन् ।

तरलता अर्थात नगद अभावकै कारण कार्यालय समय आफैले घटाएर २ बजे नै सहकारीले ताला लगाउन थालेको छ । हुनत, काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले ठमेल, कालीमाटी, साँखू, बालाजु क्षेत्रमा समेत सदस्य सेवा केन्द्र राखेर आर्थिक कारोबार गरिरहेको छ । तर सबै स्थानबाट १० हजारको सिलिङमा मात्रै बचत फिर्ता भैरहेको छ ।

यतिबेला बचतकर्ताहरु नै आफूहरुको बचतमा सिमित सञ्चालकले मनोमानी गरेका कारण सास्ती ब्यहोर्नुपरेको बताइरहेका छन् । कतिपय बचतकर्ताको करोडौँ बचत त कतिपएको लाखौँ, केहीको खाना, खाजा खर्च काटेर भोलिका लागि साँचेको रकम हिनामिना हुने अवस्था कुमारीमा देखिदैछ ।
आखिर कसरी आयो त कुमारी सेभिङ एण्ड क्रेडिटमा समस्या ?
अहिलेको अवस्था अनुसार ८ हजार बढी सदस्य रहेको कुमारी सहकारीमा १ अर्ब २६ करोड बचत रहेकोमा ७ करोड बराबरको ऋण त सञ्चालक समिति सदस्यमा प्रवाह भएको छ । अन्य सदस्यका नाममा भएको ऋण लगानी समेत केही सञ्चालक समितिको घरजग्गा कारोबार र व्यवसायीक क्षेत्रमा घुमाउरो तरिकाले पुर्याइएको छ । यो सहकारीको कारोबार र लगानी नै अपारदर्शी त छैन भन्ने प्रश्न वार्षिक प्रतिवेदन वासलतबाट समेत उठेको छ ।

व्यापार कर्जाका नाममा ३० करोड ८३ लाख, करिब ४ करोड सामुहिक जमानी कर्जा, ३ करोड बढी आवधिक बचत रसिद धितो कर्जा, आवासिय धितो कर्जा २३ करोड ४० लाख देखिन्छ । ऋण प्रवाहको स्पष्ट श्रोत नखुल्ने अन्य कर्जा शिर्षकमा समेत २३ करोड २२ लाख लगानी भएको देखिन्छ । यसले कतै सेयर पुँजी र बचतकर्ताको निक्षेप सिमित सञ्चालकको कमाउ धन्दामा त लगानी भएको छैन प्रश्न उब्जाएको छ ।

२३ करोड बढी रकम अस्पष्ट हुनेगरि किन अन्य लगानीमार्फत लगानी गरियो ? यसको जवाफ स्वयम सहकारीले नै दिन सकिरहेको छैन । अर्कोतर्फ सहकारीका उपाध्यक्ष लगायतका केही सञ्चालकहरु घरजग्गा कारोबारमा सक्रिय व्यक्ति हुन । उनीहरुले आफ्नो स्वार्थगत लाभका लागि सहकारीको पैसालाई जथाभावी चलाएको आरोप समेत लाग्ने गरेको छ । ठूलो मात्रामा बचत गरिरहेका सदस्यहरु नै सहकारीमा सिमित सञ्चालकको मनोमानी रहेको र आफ्नो बचत माग्दा अल्झाउने गरेको दाबी गरिरहेका छन् ।

आफ्नो करोडौँ बचत हिनामिना हुने डरले कुमारी सहकारी धाइरहेका बचतकर्ताले औपचारिक रुपमा बोल्न मान्दैनन् । तर, उनीहरुले आफ्नो पैसा नपाएकोमा रुन मात्रै बाँकी छ । काठमाडौं उपत्यकाका ठूला सहकारीहरु कसरी चलिरहेका छन् ? अनि किन धरासायी बनिरहेका छन् भन्ने तथ्य । सहकारी सिद्धान्त अनुसार चलेका छन वा सदस्य केन्द्रीत सेवाका नाममा सिमित सञ्चालकले लुटको साम्राज्य चलाइरहेका छन् ? सहकारीका गतिबिधिले आफै प्रश्न उब्जाइरहेको छ ।

सहकारी ऐन नियम, सहकारी नियमावली र राष्ट्रिय सहकारी नीतिमा एउटै व्यक्ति अध्यक्ष र सीईओ बस्न नपाइने व्यवस्था छ । तर समस्यामा फस्दैगरेको कुमारी सेभिङ्ग एण्ड क्रेडिटमा अध्यक्ष र सीईओ एउटै व्यक्ति (सूर्यध्वज न्यौपाने) छन् । जथाभावी ऋण प्रवाह, बिनाधितो ऋण लगानी, घुमाउरो तरिकाले सञ्चालक वरिपरि ऋण घुमाएर कमाउ धन्दामा रमाएका अध्यक्ष न्यौपाने, आफू प्रदेश सहकारी ऐन अनुसार दुबै पदमा बसेको दाबी गर्दै कसैले हट्न निर्देशन दिएमा तयार भएको भन्दै चुनौती दिन्छन् ।

सहकारीको सिद्धान्तविपरीत आफूखुसी संस्था सञ्चालन गर्दा हजारौं सेयर सदस्य र बचतकर्ताको अर्बौं रकम जोखिममा परेको छ । विश्वासको संकटकै कारण सहकारीमा बचत गर्नेभन्दा निक्षेप फिर्ता माग्नेहरु नै बढी आउने गरेको स्वयम सहकारीका अध्यक्ष नै स्विकार गरिरहेका छन् । अहिले १० हजारको सिलिङ तोकेर दैनिक १० लाखदेखी १३ लाख हाराहारि बचत फिर्ता गरिरहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट थप समस्या आउनेतर्फ कत्तिपनि सचेत देखिएको छैन ।

उल्टै घरजग्गा कारोबारमा सक्रिय आफ्ना सञ्चालक समितिका जिम्मेबार अधिकारीको बचाउ गर्दै अध्यक्ष नै आफूहरुको घरजग्गामा लगानी भए नभएको छानबिन गर्न सरकारी निकायलाई चुनौती दिइरहेका छन् । यता, कुमारी सहकारी खराब ऋणीहरुसँगको ऋण असुली र सञ्चालक समिति मार्फत परिचालित ऋण सल्ट्याएर संस्थालाई पुरानै गतिमा फर्काउने प्रयास भैरहेको दाबी भने गरिरहेको छ ।

कुमारी मात्रै होइन, सामाखुसीमा प्रधान कार्यालय रहेको आर्जन बचत तथा ऋण सहकारी समेत अहिले टाट पल्टिने अवस्थामा पुगेको छ । विगतमा समस्याग्रस्त अवस्थाबाट उक्सिदैगरेको आर्जनमा समेत अध्यक्ष र सीईओ एउटै व्यक्ति दलबहादुर आले छन् । यो कानुन विपरित हो । बचत र सेयर पूँजीको करिब शत प्रतिशत लगानीका नाममा फसाएको आर्जन सहकारी चरम तरलता संकटमा गुज्रिएको छ । सदस्यहरुलाई अहिलेसम्म जेनतेन बचत फिर्ता दिदैआएको यो सहकारी आफै भोलि ठूलो समस्या झेल्नुपर्ने स्विकार गरिरहेको छ ।

यी प्रतिनिधि उदाहरण मात्रै हुन, सञ्चालकको स्वार्थमा चलेका धेरै सहकारीमा आर्थिक संकटको समस्या बल्झिदैछ । सदस्यहरूको गर्जो टार्न र एक एक सदस्यको जीवस्तर उकास्न सामूहिक भावनाले चल्नुपर्ने सहकारी अहिले सिमित व्यक्तिको कमाउ धन्दाको अखडा बनिरहेका छन् । तर सरकारको नियमनकारी संयन्त्र तैचुप मैचुप जस्तै बन्दा लाखौँ बचतकर्ताको खर्बौ बचत जोखिममा परेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कुमारी सेभिङ एण्ड क्रेडिट, #तरलता, #राष्ट्रिय सहकारी नीति

तपाईको कमेन्ट लेख्नुहोस्