ठूला बैंक मर्जरको क्रम बढ्दो, सुरु भयो आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार

काठमाडौं । ठूला बैंकहरुबीच आपसमा मर्ज हुने क्रम बढ्न थालेको छ । मर्ज भएर सोमबारबाट ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिएर ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गरेका छन् । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना छन् ।
बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तोकिएका छन् । सोमबारबाट नयाँ कार्यसमितिले बैंक सञ्चालन सुरु गरेको छ । दुई बैंकहरुको मर्जरपछि कुल ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशका सम्पर्क कार्यालयहरु तथा ४० लाखभन्दा बढी ग्राहकहरु बीच वित्तिय कारोवार हुनेछ ।
बैंकलाई उत्पादन र स्वरोजगारसँग जोड्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा बैंकिङ क्षेत्रले योगदान बढाउनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको भन्दै यसबाट देशले अझ बलियो, र बैंकिङ क्षेत्र थप गतिशील हुने विश्वास प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।
अनावश्यक खर्च घटाएर उत्पादन बढाउन गभर्नर अधिकारीको सुझाव
गभर्नर महाप्रसाद अधिकारीले अब बैंकहरूले राष्ट्रिय उत्पादन वृद्धि गर्ने क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताए । वित्तीय संस्था धेरै हुँदा वित्तीय खर्च बढेको र अस्वस्थ प्रतिस्पर्धासमेत बढेकाले मर्जरमा जोड दिइएको गभर्नर अधिकारीको जिकिर थियो ।
अरु बैंकहरु पनि मर्जर हुने क्रममा
मङ्गलवार मात्रै प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक तथा पर्सि बुधवार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच पनि एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गर्ने तयारीमा छन् । हिमालयन बैंक र सिभिल बैंक तथा लक्ष्मी बैंक र सनराइज बैंकबीच पनि मर्जरको सम्झौता हुँदैछ ।
आपसमा मर्ज गरेर एकीकृत कारोबार गर्नको लागि आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै मर्जरको तयारीमा रहेका केही बैंकहरुले केही दिन बैंकिङ्ग कारोबार सेवा बन्द गरेका छन् । ठूला बैंकहरुबीच आपसमा मर्ज भएपछि वाणिज्य बैंकहरूको सङ्ख्या घटेर १८ वटामा झर्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चन्द्रप्रसाद ढकाल, #ठूला बैंक, #मर्ज भएर
तपाईको कमेन्ट लेख्नुहोस्