फेरि सुरु भयो निर्मला हत्या प्रकरणको अनुसन्धान, बन्यो डीआईजीको नेतृत्वमा नयाँ समिति

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।
लामिछानेले कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा ब्यूरोका प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु रहेका छन् । उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको छ । सिंह प्रहरी उपरीक्षक हुँदा पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएकी थिइन् ।
अन्य सदस्यहरु पनि यसअघि घटनाको अनुसन्धानमा संलग्न अधिकृतहरु हुन् । २०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अनुसन्धान, #कञ्चनपुरकी निर्मला पन्त, #नयाँ समिति गठन
तपाईको कमेन्ट लेख्नुहोस्