Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

फेरि स्ववियु निर्वाचनको चर्चा, १४ बर्षसम्म रोकिएको चुनाव होला त फागुन १४ मा


काठमाडौं । नेपालमा नेतृत्व जन्माउने ठाउँको रुपमा विश्वविद्यालय लिने गरिन्छ । त्रिभुवन विश्वविद्यालयको वार्षिक क्यालेन्डर अनुसार हरेक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुनुपर्छ । तर त्रिभुवन विश्वविद्यालयमा १४ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयको वाषिर्क क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुनुपर्ने प्रष्ट छ । तर, २०६५ साल यता फागुन १४ गते स्ववियुको चुनाव त्रिविको कार्यतालिकामा मात्रै सीमित हुँदै आएको छ ।

स्ववियू निर्वाचन नहुँदा क्याम्पसहरूले विद्यार्थीको आधिकारिक प्रतिनिधि पाउन सकेका छैनन् । पञ्चायतकालमा समेत भएको स्ववियु निर्वाचन गणतन्त्रमा आएर ब्रेक लागेको छ । पछिल्लोपटक २०६५ चैत ६ मा त्रिविका प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । ०६५ पछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो । जसमा उपत्यकाका ९ र उपत्यकाबाहिरका १७ गरी २६ क्याम्पसमा मात्रै निर्वाचन भयो ।

विद्यार्थी हकहितका लागि भन्दै गरिने त्रिविको चुनावी कार्यतालिका पछिल्लो समय क्यालेण्डरमा मात्रै सीमित रहँदा यस पटक भने त्रिवि निर्वाचन गर्न खटिएको छ । देशका अन्य सबै निर्वाचन सम्पन्न भएकाले आगामी फागुनमा स्ववियु निर्वाचन गर्नेगरि तयारीमा जुटेको हो । स्ववियु निर्वाचन यसपटक निर्धारित मिति अर्थात आगामी फागुन १४ गते नै गर्ने गरि त्रिवी तयारीमा जुटेको छ । विद्यार्थी संगठनसँगको छलफलको प्रक्रियामा रहेको त्रिबीको जिकिरले १४ वर्षदेखी प्रभावित स्ववियु निर्वाचन समयमै होला भन्ने आशा भने जगाएको छ ।

स्ववियु निर्वाचन निर्धारित मितिमा नै हुनुपर्छ भन्नेमा त्रिवि र विद्यार्थी सङ्गठन एकमत जस्तै छन् । अठाईस वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमति निर्वाचन नै हुन सकेको छैन । कतिपय जानकारहरु त राजनीतिको आधार बनाउन विद्यार्थी राजनीतिमा लाग्नेहरु उमेरहदसँगै हच्किएका कारण समेत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रौनक घटेको बताउँछन् ।

त्रिविले विद्यार्थी नेताहरुलाई छलफलका लागि अहिलेसम्म औपचारिक तथा अनौपचारिक रुपमा नबोलाएपनि चुनाव तोकिएको समयमा गराउने भनेर अनौपचारिक छलफलमा भने त्रिवि पदाधिकारीहरु जुटेका छन् । विद्यार्थी संगठन र नेताहरु समेत यो वर्षको स्ववियु निर्वाचन क्यालेण्डर अनुसार नै गराउन सक्रिय देखिएका छन् । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #वार्षिक क्यालेन्डर, #विश्वविद्यालय, #स्वतन्त्र विद्यार्थी युनियन

तपाईको कमेन्ट लेख्नुहोस्