Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो


काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मतदान सकिएलगत्तै सुरु भएको मत गणना १५ दिनमा सकिएको हो । अन्तिम परिणाम अनुसार नेपाली कांग्रेस प्रमुख दल बनेको छ । दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा सार्वजनिक भएको छ । प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७, राष्ट्रिय प्रज्ञातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ७, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेका छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत १–१ सिट जितेका छन् भने स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् । यस्तै प्रदेश सभा तर्फको ३ सय ३० सिटमा १ सय १२ निर्वाचन क्षेत्रमा जितेर कांग्रेस पहिलो दल बनेको छ । नेकपा (एमाले)ले ९१ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो बनेको भने नेकपा (माओवादी केन्द्र)ले भने ५३ स्थानमा जित हासिल गरेर तेस्रो बनेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले भने १५, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले ७, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी १–१ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् । समानुपातिकतर्फको मत गणना पनि अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मत गणनामा नेकपा एमाले सबैभन्दा धेरै मत ल्याएर पहिलो बनेको छ । एमालेले २७ लाख ९१ हजार बढी मत ल्याएको छ भने कांग्रेसले २६ लाख ६६ हजारबढी मत ल्याएको छ ।

त्यस्तै माओवादी केन्द्रले ११ लाख ६२ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टीले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार, नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ल्याएको छ । समानुपातिकको समेत मत जोड्दा कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा,जसपा र जनमत पार्टी राष्ट्रिय पार्टी बनेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१ सय ६५ निर्वाचन क्षेत्र, #अन्तिम मत परिणाम सार्वजनिक, #निर्वाचनको अन्तिम परिणाम, #निर्वाचनको प्रत्यक्ष

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं