Techie IT
  • ५ वैशाख २०८१, बुधबार
KhojPatrika

योगदान र इतिहास भुल्दै स्वतन्त्र दावी गर्ने उम्मेद्वार, वितृष्णा फैलाउन मात्रै केन्द्रीत

बैकल्पिक राजनीतिक शक्ति दावी गर्नेहरुले गाली मात्रै गर्ने ?


काठमाडौं । बैकल्पिक राजनीतिक शक्ति बन्ने दाबीसहित चुनावमा होमिएका नवगठित दलहरु पनि फिक्का देखिन थालेका छन् । नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुले प्रस्तुत गरेका घोषणापत्र र गतिविधि हेर्दा उनीहरु बैकल्पिक शक्ति त होइन बरु वितृष्णा फैलाउने कारक बन्न सक्ने देखिन्छ । मंसिर ४ को निर्वाचन नजिकिएसँगै विद्यमान राजनीतिक दल र नेताहरुको आलोचना पनि बढेको छ ।

लामो समयदेखि शासकिय नेतृत्व गरेका दल र नेताहरुको आलोचना गर्नेहरुमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका व्यक्ति र अब देशलाई राजनीतिमार्फत विकल्प दिन्छौँ भन्दै दर्ता भएका नवगठित दलहरु रहेका छन । उनीहरु योग्य, पढेलेखेका, युवा, विकासको लहर ल्याउने तथा सुशासन दिन सक्नेहरुलाई छान्नुपर्ने बताउँछन । भ्रष्टाचारीलाई जेलमा कोचे मात्रै देश र जनताले मुक्ति पाउने उनीहरु बताउँछन् ।

सामान्य रूपमा हेर्दा स्वतन्त्रहरू र नवगठित केही दलहरुको उद्देश्य राजनीतिक दलहरूमाथिको वितृष्णाबाट फाइदा उठाएर व्यक्तिगत चर्चा र सुविधाको लाभ लिने देखिन्छ । उनीहरु लामो समयदेखी प्रभावशाली रहँदै आएका केही नेतामाथी गालीगलौजमा उत्रिएका छन । यसबाट राजनीति र समाज शुद्धिकरण गर्ने उनीहरुको दाबी सफल हुन देखिदैन । पूर्व प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई विगतमा आफूहरुले गरेको योगदानलाई सम्झन गतिलो जवाफ दिएका थिए ।

नेपालको चुनौती समाधान गर्ने, आन्तरिक र बाह्य समस्याको समाधान खोज्ने, अर्थतन्त्र बलियो बनाउने, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा तत्कालै चमत्कारिक रुपमा अघि बढाउन सक्ने योजनामा खरो रुपमा प्रस्तुत हुन सकेको छैन । नयाँ दल र उम्मेदवारहरूमा परम्परागत दलले गल्ती गरे, अब हामी आउनुपर्छ भन्ने सोच मात्र देखिन्छ ।

उनीहरुले समाज बदल्ने कोसिस कसरी गरिन्छ भन्नेमा आशा गर्ने आधार नै प्रस्तुत गर्न सकेका छैनन । उनीहरु मध्ये केहीमा शैक्षिक योग्यता भएपनि समाजमा भिजेर काम गरेको, र व्यवस्थापकिय नेतृत्वको अनुभव छैन । युरोप, अमेरिका अष्ट्रेलिया लगायतका विकसित मुलुकमा युवाले देशको नेतृत्व गरेको देखाउँदै उनहरु नेपालमा पनि आफनो नेतृत्व दावी गरिहेका छन तर त्यसअनुसारको सीप, क्षमता र बिचार प्रस्तुत गर्न सकेका छैनन ।

राजनीतिमा नयाँ वा पुरानो भन्ने हुँदैन । जोसँग बिचार र दर्शन छ, त्यही संसद र शासकिय नेतृत्वमा आउनुपर्छ । निर्वाचनको मुखमा विभिन्न किसिमका वाचाहरू गर्ने र निर्वाचनपछि बिर्सिने प्रबृत्तिको अन्त्यसँगै कागजी योग्यतालाई ठूलो उपलब्धी मान्ने र ठान्ने, अरुलाई गाली गर्नेहरु सबै सच्चिन आवश्यक छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #इतिहास भुल्दै, #बैकल्पिक राजनीति, #शासकिय नेतृत्व

तपाईको कमेन्ट लेख्नुहोस्