आयोगले सोध्यो प्रचण्ड, नारायणकाजी र रवि लामिछानेलाई स्पष्टीकरण, टोपी प्रयोग गरेको आरोप

काठमाडौं । निर्वाचन प्रचार प्रसारका क्रममा टोपी प्रयोग गरिएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हसिया हथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको भन्दै आयोगमा उजुरी परेको थियो । ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आयोगमा उजुरी परेपछि लामिछानेलाई पनि स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र तीन जनालाई नै निर्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको हो ।
पत्रमा उनीहरुलाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा १ को खण्ड घ को विपरीत भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३ र ४ बमोजिमको कारबाही किन हुनुनपर्ने हो ? भनी सोधिएको छ । निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा १ को खण्ड घ मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #टोपी प्रयोग गरिए, #निर्वाचन प्रचार प्रसार, #रवि लामिछाने
तपाईको कमेन्ट लेख्नुहोस्