Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

२३ वर्षअघि सुरु भएको ‘कमेरोटार जग्गा एकीकरण आयोजना अलपत्र, स्थानीय आन्दोलित


काठमाडौं । मध्यपुर थिमि नगरपालिकास्थित कमेरोटारमा २३ वर्षअघीदेखी सुरु भएको ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ अहिलेसम्म पनि पुरा हुन नसक्दा जग्गाधनी आक्रोशित हुन थालेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८/५९ बाट सुरु गरेको आयोजनाको वर्षौसम्म पनि अल्झिएको छ भने जग्गाधनी र आयोजनाबीच बारम्बार बिवाद समेत हुँदै आएको छ । विगतमा आफ्नो जग्गा सस्तोमा बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न पटक–पटक दबाब दिँदै आएका उपभोक्ता अहिले भने सामान्य पूर्वाधार विकास समेत नभएको गुनासो गरिरहेका छन् ।

करिब एक साता अघिदेखी त कमेरोटार आयोजना क्षेत्रका स्थानीय चरणबद्ध रुपमा आन्दोलनमै उत्रिएका छन् । एक हजार ४८६ रोपनी क्षेत्रभित्र सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनामा अहिलेसम्म स्थायी लालपुर्जा वितरण ७५ प्रतिशत सकिएको र सेल्स प्लट बिक्री ८३ प्रतिशत सकिएको दाबी आयोजनाले गर्दैआएको छ । अधिकांश सडक चार मिटरको रहेको यो आयोजनामा विसं २०७२ को भूकम्पपछि धेरै मुख्य सडकलाई ११ मिटर बनाइएको भएपनि अहिलेसम्म हिले र धुले नै छन् । नगरपालिका ४ वर्षअघी आयोजनालाई आफ्नो स्वामित्वमा लिएपछि सबै सडकमा ग्राभेल गर्ने, ढल, खानेपानीको पाइप बिछ्याउने, ११ मिटरका सडकमा फुटपाथ बनाउने काम छिट्टै सम्पन्न गर्ने, आयोजनाभित्र ११ लाख लिटरको खानेपानी ट्याङ्की निर्माण, ऐतिहासिक धारा तथा पाटीहरूको परम्परागत शैलीमा निर्माण गर्ने प्रतिबद्धता गरेपनि पुरा गर्न सकेन ।

हुन त अहिलेपनि उपभोक्ता समितिका अध्यक्ष समस्या समाधानमा गम्भिर भएको दाबी गरिरहेका छन तर मैदानमा काम देखिएको छैन । अहिले स्थानीय २३ वर्ष भैसक्दा समेत कमेरोटार बस्तीमा खानेपानी, ढल निकास र बाटोको सहज सुविधा नभएको, फोहरमैला ब्यबस्थापन लगायतका समस्या समाधानमा आयोजनाले ध्यान नदिएको भन्दै छिटो आफूहरुका आधारभुत आवश्यकता पुरा गराउन माग गरिरहेका छन् । आयोजना प्रमुख र मध्यपुर थिमि नगरपालिकालाई पटक–पटक आफूहरुका माग बारे जानकारी गराउँदा पनि बेवास्था गरिरहेको भन्दै कमेरोटार बासीहरु आन्दोलित भएको यतिका दिन पुग्दा समेत कसैले चासो दिएको छैन ।

अर्कोतर्फ यो आयोजनामा अहिलेसम्म पनि उपभोक्ता समितिको अध्यक्ष एकै व्यक्ति छन् । नक्कली उपभोक्ता समिति, आयोजना प्रमुख, केही कर्मचारी र नगरपालिकाले आफूहरुको जग्गा बिक्रिबितरण गर्ने, समयअवधी बढाउँदै आयोजनाको लागत बढाएर टन्न कमाउने अनि जग्गा धनीहरुलाई आधारभूत सुविधा र पूर्वाधारको सुविधा समेत दिन आनाकानी गर्ने प्रबृत्ति नसच्चिदासम्म आन्दोलन नरोकिने पीडित उपभोक्ताले बताउँदैआएका छन् । बर्षौसम्म एउटै आयोजना प्रमुख, प्राविधिक कर्मचारी राख्ने अनि आयोजनालाई लम्ब्याएर त्यही आयोजनाको जग्गा जमिन बेच्दै कमाउने अखडा बनाइएका कमेरोटार र अन्य यस्ता आयोजनाको मनोमानी तत्काल रोकियोस । व्यवस्थित घडेरी विकासका नाममा सरकारबाटै हुँदैआएको चलखेलमाथीको खबरदारी निरन्तर रहनेछ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उपभोक्ता समिति, #कमेरोटार जग्गा एकीकरण आयोजना, #मध्यपुर थिमि नगरपालिका

तपाईको कमेन्ट लेख्नुहोस्