४ बर्षदेखि नखुलेको एउटा गोदाम, जहाँ छ ८ देखि १० करोडको मदिरा
मन्त्रीकै निर्देशनको अटेरी !

काठमाडौं । तत्कालिन नेशनल ट्रेडिङ लिमिटेड अर्थात् राष्ट्रिय व्यापार कम्पनीको एउटा गोदाम ४ बर्षदेखि बन्द छ । यतिबेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मातहत आएका धेरै संरचना दैनिक जिर्ण बन्दै गएका छन् । काठमाडौंको चलायमान र महंगो मानिएको सिंहदरबारको पश्चिम गेटसँगै रामशाह पथमा रहेका यी संरचना प्रयोगविहिन हुनु मासिक लाखौं घाटा हो । बाहिरि कम्पाण्ड ड्राइभिङ सेन्टरले भाडामा लिएर प्रयोग गरिरहेको छ । भवनको माथिल्लो तलामा दरबार स्क्वायर रेष्टुरेण्ट चलिरहेको छ । तर, भवनको तल्लो तला बर्षौदेखि ताला लगाएर शिलबन्दी गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारी बेला बखत आउने र ताला लगाइएको छ या छैन ? कसैले खोल्यो कि भन्दै हेरेर फर्किने काम गरिरहेका छन् । यो गोदाम विगत ४ बर्षदेखि शिलबन्दी छ । यो गोदाम खोल्न सबै पक्षको सहमति आवश्यक पर्छ । तर, गोदाम खोल्न कसैको ध्यान पुगेको छैन । आखिर ४ बर्षदेखि नखुलेको यो गोदाममा के छ त ? भन्ने जिज्ञासा सबैलाई लाग्न सक्छ । हो यो शिलबन्दी गरेको गोदाममा निक्कै महंगो ८ देखि १० करोड बराबरको उच्च गुणस्तरका मदिरा, ह्वीस्की, रमलगायतका पेयजन्य पदार्थ छ । बर्षौदेखि गोदाम नखुल्दा त्यहाँ भएको सामग्री समेत काम नलाग्ने अवस्थामा पुगेको छ ।
दुई साता अघि मात्रै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफनो स्थापना दिवस धुमधामले मनायो । जहाँ प्रमुख अथिति थिए उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडु । लिमिटेडको काम गराई मन्त्री बडुलाई चित्तै बुझेको छैन । सार्वजनिक कार्यक्रममै मन्त्रीले मिति नै तोकेर गोदाम खुलाउनेदेखि सम्पत्तिको ब्यवस्थापन र लेखाजोखा गर्न निर्देशन दिएका थिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई मन्त्री बडुले निर्देशन दिएको दुई साता नाघ्यो । तर, मन्त्रीको निर्देशन नै कार्यान्वयन गर्न लिमिटेडका कर्मचारीदेखि प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले किन आलटाल गरिरहेका छन् भन्ने प्रश्न उब्जिएको छ ।
कुन सामान कति छ र कस्तो अवस्थामा छ भन्ने समेत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पत्तो छैन । मन्त्री बडुले एक सातामा गोदाम ब्यवस्थापन गर्नु भन्ने दिएको निर्देशन नै दुई साता बित्नै लाग्दा पनि कार्यान्वयन नहुनुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कति सुस्त गतिमा चलिरहेको छ भन्ने एउटा गतिलो उदाहरण पनि हो । समिति बनाएर गोदामभित्रको विवरण नै संकलन लिमिटेडलाई महाभारत आखिर किन भयो त ? खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदी काम गरिरहेको र छिट्टै ब्यवस्थापन गर्ने दाबी गर्छिन । केन्द्रीय कार्यालय छेउमै रहेको गोदामको सम्पत्ति दैनिक नष्ट भइरहेको छ । तर, लिमिटेडको ध्यान अनेत्रै गइरहेको छ ।
कसरी भित्रिएको थियो त करोडौंको मदिरा
राज्यलाई नगद र उपभोक्तालाई सस्तो मूल्यमा सामान बिक्री गर्ने लक्ष्यसहित सञ्चालमा आएको नेशनललाई २०२८ मा थप वस्तुको व्यापार गर्ने जिम्मेवारी दिइयो । त्यतिबेलासम्म नेपालमा पर्यटकको आगमन बाक्लै हुन थालिसकेको मात्रै होइन कूटनीतिक नियोग पनि धमाधाम थपिँदै थिए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार प्रत्येक मुलुकको विमानस्थलमा डयुटी फ्रिका उच्च गुणस्तरका मदिरा, ह्वीस्की, रमलगायतका पेयजन्य पदार्थ बिक्री गर्ने अवधारणा अघि सारिएको थियो ।
नेपालमा पनि तत्कालिन सरकारले नेसनललाई नै ड्युटी फ्रिको मदिरा बिक्री गर्न बाटो खोलिदियो, नेसनलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिक्री सप र रामशाहपथमा ब्रान्डेड वेयर हाउस स्थापना गरी मदिरा कारोबार थाल्यो । जहाँ स्कटल्यान्ड र फ्रान्सबाट मदिरा आयात गरिन्थ्यो । तर, २०४६ को प्रजातन्त्रसँगै फस्टाएको उदारिकरणसँगै नेसनललाई सत्ताका खेलाडीले डुबाउने खेल सुरु गरे । कार्यकर्तालाई महाप्रबन्धक तथा अध्यक्षमा नियुक्त गर्न थालिएपछि नेसनललाई डुवाउने खेल सुरु भएको देखिन्छ ।
दलप्रति वफादार महाप्रबन्धक र अध्यक्षले नेसनललाई सशक्त बनाउने भन्दा भर्ति केन्द्र बनाएर आय आर्जनको बाटोमा लागे । जसले गर्दा कम्पनी नै धरासायी बन्यो । नेसनलको रक्सी आफूखुशी बिक्री गर्ने खेलमा केही कर्मचारी पनि लागेका थिए । २०६५ मा अर्थमन्त्री भएका डा.बाबुराम भट्टराईले ड्युटी फ्रि आयात गरिएका सम्पूर्ण मदिराजन्य पदार्थको बिक्री वितरण र विमानस्थलमा भएको बिक्री केन्द्र विकल्प बिनै बन्द गर्ने बजेट वक्तव्यमार्फत घोषणा गरेपछि नेसनल आर्थिक रुपमा पूरै जर्जर बनेको थियो । सबैको तारो बनेको राष्ट्रिय ब्यापार कम्पनी अन्तत् बन्द नै भयो ।
आर्थिक वर्ष २०७५/०७६ को बजेट मार्फत सरकारले नेशनल ट्रेडिङ लिमिटेडलाई नेपाल खाद्य संस्थानमा गाभी राष्ट्रिय आपूर्ति कम्पनी गठन गर्ने उल्लेख भयो । २०१८ चैत्र १८ गते स्थापित नेशनल ट्रेडिङ लिमिटेड र २०३१ मंसिर १७ गते स्थापित नेपाल खाद्य संस्थानलाई गाभेर नयाँ सरकारी कम्पनीका रुपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन गर्ने नेपाल सरकार मन्त्रिपरिषदको २०७६/०२/१० को निर्णयअनुसार मिति २०७६ श्रावन २८ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई औपचारिक रुपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बन्यो । तर, लिमिटेडमा आइसकेको सम्पत्तिको लेखाजोखा गर्न कसैको ध्यान गएन र महंगो उच्च गुणस्तरका मदिरा, ह्वीस्की, रम लगायतका पेय पदार्थ अहिले पनि गोदाममा थन्किरहेको छ । गोदाम मात्रै होइन नेशनल ट्रेडिङ लिमिटेडको सम्पत्तिको समेत लेखाजोखा हुन सकेको छैन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #४ बर्षदेखि नखुलेको एउटा गोदाम, #नेशनल टेडिङ लिमिटेड, #राष्ट्रिय व्यापार कम्पनी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्