Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा


काठमाडौं । गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनमार्फत सङ्कलन गरिएका नमुना परीक्षणबाट दोषी देखिएका एक सय १५ उद्योग, फर्म र व्यापारीविरुद्ध मुद्दा दायर गरेको हो । विभागले गएको आर्थिक वर्षमा बजार अनुगमन गरी चार हजार ६ सय ६० वटा नमुना संकलन गरेकोमा संकलित नमुनामध्ये पाँच दशमलव ४२ प्रतिशत मापदण्ड विपरीत पाइएको छ ।

फलफूल तथा सागपातजन्य पदार्थ सबैभन्दा धेरै अखाद्य रहेको पाइएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमुना दूषित देखिएको जानकारि दिए । खाद्यान्न/दलहनजन्यका ५३, प्रशोधित पिउने पानीका २९, दाना पदार्थका १७, दूध तथा दुग्ध पदार्थका १५, तेल तथा घिउजन्यका १४, चिया कफीका १३, मसलाका ६, गुलियो पदार्थका चार, मासु तथा मासुजन्यको एक र अन्यको ११ गरी दुई सय २४ वटा नमुनाको परीक्षण प्रतिवेदन प्रतिकूल आएको छ ।

दूषित खाद्य पदार्थ बेचेको अभियोगमा एक सय १५ वटा मुद्दा दायर गरिएकामध्ये खाद्यान्न एवम् दलहन तथा त्यसबाट बनेका पदार्थका सबैभन्दा धेरै ३० वटा रहेका छन् । दूध तथा दुग्ध पदार्थका १९, दानाको १८, प्रशोधित पिउने पानीको १४, चिया तथा कफीका आठ वटा मुद्दा दायर गरिएको छ । फल तथा सागपातका सात, मसला पदार्थका पाँच, गुलियो पदार्थका तीन, तेल तथा घिउजन्यको दुई, सोयाससको एक र अन्य आठ वटाविरुद्ध पनि विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले ’र्यापिड रेस्पोन्स टिम’ मार्फत कारबाहीलगायत आठ हजार आठ सय ६६ पटक निरीक्षण गरेको थियो । विभागले पानी, तरकारी बजार, खाद्य दाना उद्योग, होटल रेस्टुरेन्ट, राजमार्गका होटलमा अनुगमन बढाएको थियो । गएको वर्ष विभागले सात सय तीन वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने एक हजार चार सय ८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको जनाएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, #गुणस्तरहीन खाद्य वस्तु, #स्वास्थ्यमाथि खेलबाड

तपाईको कमेन्ट लेख्नुहोस्