Techie IT
  • ३ असार २०८२, मंगलबार
KhojPatrika

एसईईको नतिजा सार्वजनिक, कुन ग्रेड ल्याउने विद्यार्थीले के पढ्न पाउँछन् ?


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई २०७८ को नतिजा सार्वजनिक भएको छ । नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार प्रकाशित गरिएको छ । नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसैगरी २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ जना रहेको छ । यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको छ ।

कक्षा ११ मा भर्ना पाउनका लागि ग्रेडिङ विधि अनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस तथा ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्ने व्यवस्था छ । आठ विषयमा परीक्षा दिँदा तीन विषयमा भने जुन ग्रेड ल्याउँदा पनि हुन्छ ।

११ कक्षामा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । तर, यस समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए दुई ल्याउनै पर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् । सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीका लागि हो ।

विज्ञान र सीपमूलक समूहमा भर्ना हुन पाउने विद्यार्थीको विषयगत योग्यता निर्धारण गरिएको भए पनि मानविकी, व्यवस्थापन र शिक्षा विषयमा भने छुट्टाछुट्टै योग्यता तोकिएको छैन । जुनसुकै समूहमा भर्ना भए पनि ऐच्छिकसँगै विद्यार्थीले अनिवार्य विषय पढ्नुपर्छ । मापदण्डअनुसार समग्र नतिजामा न्यूनतम जीपीए १.६ ल्याएका तर म्याथ, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानसहित पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउनेछन् ।

यी समूहमा म्याथ, जिओेग्राफी, एकाउन्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथमेटिक्स, साइकोलोजी, एलिमेन्ट्स अफ फाइनान्स, ज्योतिष, को(अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, बिजनेस म्याथमेटिक्सलगायत विषय पर्छन् । अंग्रेजी, म्याथमेटिक्स, सोसल स्टडिज, नेपाली र विज्ञानमा न्यूनतम डी प्लस ल्याएका र समग्रमा नतिजा जीपीए १.६ ल्याएका विद्यार्थीले फिजिक्स एजुकेसन, केमेस्ट्री, एजुकेसन, बायोलजी, एजुकेसन र टिचिङ साइन्स विषय पढ्न सक्नेछन् ।

अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याएका र समग्र नतिजामा न्यूनतम जीपीए एक दशमलव ६ ल्याएका विद्यार्थीले अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंग्रेजी र लिंग्विस्टिक्स विषयमा भर्ना हुन पाउँछन् । अंग्रेजी, नेपाली, म्याथमेटिक्स र सामाजिक अध्ययनमा डी प्लस ल्याएका र समग्र नतिजा न्यूनतम १.६ प्रतिशत ल्याएका विद्यार्थीले होटल म्यानेजमेन्ट र ट्राभल तथा टुरिज्म विषयमा भर्ना हुन पाउने व्यवस्था छ ।

समग्र नतिजा १.६ जीपीए ल्याएर अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याएका विद्यार्थीले नेपाली तथा टिचिङ विषयमा भर्ना हुन पाउनेछन् । तर, सैद्धान्तिक विषयतर्फ सी, डी प्लस र ई ग्रेड प्राप्त गरेका अर्थात् सैद्धान्तिक विषयमा सी ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीले जति विषयमा सी र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेको विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् । यसरी दिइएको परीक्षाबाट पहिलेको नतिजामा आएको भन्दा बढी ग्रेड प्राप्त गरे भने उनीहरूले अन्य विषय पनि पढ्न पाउनेछन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एसईई, #नतिजा अक्षरांकन, #माध्यमिक शिक्षा परीक्षा (एसईई)

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं