Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

बागमतीको मुख्यमन्त्री बन्न बानियाँको दौडधुप,टिकिरहन पाण्डेको भनसुन


काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री फेरवदलमा रस्साकस्सी चलेको छ । चौथो पटक मुख्यमन्त्री परिवर्तनका लागि यतिबेला दौडधुप शुरु भएको छ। सत्तारुढ गठबन्धनमा बागमती प्रदेश सरकारको आधा–आधा कार्यकाल नेकपा एकीकृत समाजवादी र कांग्रेसले नेतृत्व गर्ने पूर्वसहमति भएको भन्दै चौथो पटक मुख्यमन्त्री फेरवदलका लागि दौडधुप शुरु भएको हो।

बागमतीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ। गठबन्धनको नेतृत्व गर्दै एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे गत कात्तिक ११ गते तेस्रो मुख्यमन्त्री बनेका थिए । साढे तीन वर्ष लामो एमालेको सरकार ढलेसँगै सरकार निर्माण गर्दा समाजवादीका पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका थिए।

दुवैजना दाबीबाट पछि नहट्दा बाँकी रहेको सरकारको कार्यकाल दुवै जनाले आधा–आधा नेतृत्व गर्ने सहमति भएको थियो। ६–६ महिना सरकारको नेतृत्व आलोपालो गरेर चलाउने लिखित सहमति भएअनुसार पाण्डे वैशाखमा नै सरकारबाट बाहिरिँदै बानियाँ आउनुपर्थ्यो। तर, पाण्डेको नेतृत्वमा सरकारको आगामी आर्थिक वर्षको बजेट ल्याउने र बानियाँको नेतृत्वमा प्रदेशसभाको निर्वाचन गर्ने सहमतिले कांग्रेस चुप भएपनि अहिले भने कांग्रेसले मुख्यमन्त्री दाबी गरिरहेको छ ।

मुख्यमन्त्री पाण्डेले भने गठबन्धनमा कुनै सहमति नै नभएको भन्दै सरकार परिवर्तन नहुने कुरा सार्वजनिक रुपमा बताउँदै आएका थिए। तर, गठबन्धनमा भएको सहमतिपत्र भने बाहिरिइसकेको छ। पत्रमा ६ महिनापछि सरकारको नेतृत्व कांग्रेस संसदीय दलको नेता बानियाँले गर्ने कुरा उल्लेख छ। लिखित सहमतिपत्रमा बानियाँ र पाण्डेसँगै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलको पनि हस्ताक्षर छ।

बिहीबार सरकारको आगामी आवको बजेट संसदबाट बहुमतले पारित भएसँगै कांग्रेसले सत्ताको साँचो आफूलाई सुम्पिन पाण्डेमाथि दबाब दिन थालेको छ । कांग्रेसको २२ र माओवादीको २३ सांसदको हस्ताक्षर संकलन गरिनुको साथै पाण्डेले सहजै बाटो खुल्ला नगरे सरकारमा रहेका आफ्ना दलका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णयसमेत भएको छ। तर, एमालेले फेरि पाण्डेलाई समर्थन जनाउने प्रतिक्रिया दिएपछि ट्विस हुन थालेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चौथो पटक मुख्यमन्त्री, #बागमती प्रदेशको मुख्यमन्त्री

तपाईको कमेन्ट लेख्नुहोस्