वामदेव गौतमको नयाँ पार्टीः नेकपा एकता राष्ट्रिय अभियान,कसरी हुन्छ फुटेकाबीच एकता

काठमाडौं । नेकपा विभाजित हुँदा तटस्थ बसेर पार्टी मिलाउछु भन्दै लागेका वामदेव गौतमले अन्तत नयाँ पार्टी घोषणा गरेका छन् । रिपोर्टर्स क्लव नेपालमा मंगलबार आयोजित पार्टी घोषणा कार्यक्रममा उनले नेकपा एकता राष्ट्रिय अभियान नाम दिएर नयाँ राजनीतिक दलको घोषणा गरेका हुन् । घोषित दलको संयोजक गौतम आफैँ हुन् । घोषणा सभामा गौतमले काँग्रेस बहुमत या सबैभन्दा ठूलो दलका रुपमा स्थापित हुने आँफूले देखेको बताए ।
आफू कुनै हालतमा काँग्रेसलाई बहुमत ल्याउन नदिने गरी लागेको बताए । कम्युनिस्ट शक्ति एकजुट हुनुपर्नेमा उनको जोड थियो । आफू वाम एकतामा लागेर देशको शासनको नेतृत्व पुनः कम्युनिस्टले नै गर्ने अवस्था निर्माणमा लागेको बताए । प्रस्तावित दलको केन्द्रीय कमिटी ७५ सदस्यीय र स्थायी कमिटी १५ सदस्यीय हुने गौतमले जानकारी दिए ।
समन्वय समितिका रूपमा आठ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । सचिवालयमा संयोजक गौतम र सचिव डीबी कार्की रहेका छन् । यसैगरी सचिवालय सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल परेका छन् । उनका अनुसार एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रूपमा रहनेछन् ।
हाल हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको मात्रै व्यवस्था गरिएको उनले बताए । पार्टीले अन्य पार्टीसँग एकताको सम्वादका लागि संयोजक गौतमकै संयोजकत्वमा सचिवालयका सदस्यहरू सम्मिलित वार्ता टोली छिट्टै बनाउने उल्लेख छ । वामदेवको विगत भने विवादास्पद छ । महाकाली सन्धीका बिषयमा विवाद हुँदा उनले एमाले फुटाएर माले बनाएका थिए ।
२०५६सालको निर्वाचनमा पार्टीले पराजय बेहोरेपछि उनी फेरि एमालेमै फर्किए ।वाम गठबन्धन हुँदा उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट कांग्रेसका सन्जयकुमार गौतमसंग पराजित भए । पछि सरकारको कोटावाट मनोनित हुँदै राष्ट्रिय सभामा पुगेका गौतम पछिल्लो समय निष्क्रिय जस्तै देखिपनि फेरि वामपन्थी दललाई एक गर्ने अभियानका साथ नयाँ पार्टी निर्माण गरि अघि बढ्न खोजिरहेका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नयाँ पार्टी घोषणा, #नेकपा विभाजित, #रिपोर्टर्स क्लव नेपाल
तपाईको कमेन्ट लेख्नुहोस्