एसपीपीले नेपाली राजनीति तरंगित, सेनाले तीन वटा पत्र पठाएको खुलासा,दलहरु पन्छिने दाउ

काठमाडौं । अमेरिकाको नेसनल गार्ड स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी)का लागि नेपालले पठाएका बिभिन्न पत्र बाहिरिएसँगै नेपाली राजनीतिमा तरंग ल्याएको छ । सुरुमा अमेरिकालाई एसपीपी कार्यक्रमका लागि कुनै पत्र नपठाएको दाबी गर्ने नेपाली सेनाले फेरि पत्र पठाएको प्रतिक्रिया दिएपछि दोहोरो चरित्र देखाएको भन्दै सेनाकै आलोचना भइरहेको छ । यी दोधारे कुराले एसपिपीमा साझेदारीका लागि भएका प्रयासबारे राजनीतिक नेतृत्व, नेपाली सेना र अमेरिकीको मत बाझिएको मात्रै छैन सबैलाई चकित पनि पारेको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूत एलिना बी टेप्लिजलाई पत्र पठाएको नेपाली सेनाले स्वीकार गरेको छ ।
प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भएका प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीमा कुनै सहमति नभएको दाबी गर्दा अमेरिकी दुतावासले भने तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दुई पटक हस्ताक्षर गरेर चिठी पठाएको र २०१९ मा अमेरिकाले एसपिपीअन्तर्गत सहकार्य स्वीकार गरेको र फिर्ता हुने भए पत्र पठाउन आग्रह गरेको छ । प्रमुख प्रतिपक्षी एमालेले एसपिपी अगाडि बढाएर सरकारले राष्ट्रहितविरुद्ध काम गर्न थालेको भन्दै संसद्मा आवाज उठाइरहेका वेला अध्यक्ष ओली नेतृत्वकै सरकारको स्वीकृतिमा सेनाले अमेरिकालाई पत्र पठाएको सार्वजनिक भएपछि वनावटी कुरा गर्न थालेको छ ।
प्रमाण खोजीरहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको पत्र बाहिरिएसँगै बोली नरम भएको छ । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले कुन सरकार र प्रधानमन्त्रीले सेनालाई एसपीपी कार्यक्रममा सहभागी हुन पत्र लेख्न लगाएका हुन भन्नेबारे प्रधानसेनापति शर्मालाई प्रश्न गरेका थिए । परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताए । प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको खड्काको भनाई थियो । तर, नेकपा एमालेका नेता भीम रावलले एसपिपी सम्झौताबारेमा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का पन्छिन खोजेको आरोप लगाए ।
परराष्ट्रमन्त्रीले संसदमा ढाँटेको रावले एसपिपीको बारेमा छानबिन गर्न समितिले छानबिन समिति बनाउनु पर्ने र परराष्ट्र मन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर’ सम्झौता गराउन सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरे ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृण खाँणले सम्र्झौता हुदैन भनी सकेका कारण यसलाई धेरै लम्ब्याउन नहुने बताए । न्तराष्ट्रिय सम्बन्ध समितिमा एसपीपी सम्झौताबारेको छलफलमा सांसदहरुले नेपाली सेना जस्तो संबेदनशील संस्था विवादमा आएको भन्दै लुकाइएका सबै कुरा बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्दै सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको दाबी गरे । पत्र पठाइसकेपछि अमेरिकाबाट बिभिन्न मानविय सहायताका लागि केही सामान समेत आइसकेको प्रधानसेनापति शर्माको भनाई छ ।
सेनाले सरकारकै निर्देशन अनुसार पत्र पठाइएको दाबी गरेको छ । दलहरु भने अझै एकले अर्कोलाई आरोप लगाउदै आफू पन्छिन खोजीरहेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको छ । बैठकले एसपीपीको सन्दर्भमा अहिलेसम्म भएका पत्राचार तथा कागजातहरू पनि एक साताभित्र समितिमा पेस गर्न निर्देशन दिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एसपिपी, #नेपाली सेना, #प्रधानसेनापति प्रभुराम शर्मा, #राजेन्द्र क्षेत्री
तपाईको कमेन्ट लेख्नुहोस्