Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

पछि हट्यो यातायात ब्यवस्था विभाग,साउन १ गतेदेखि नै इम्बोस्ड अनिवार्य नहुने


काठमाडौं । अन्तत् चौतर्फी दवावपछि यातायात ब्यवस्था विभाग सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हटेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिदै विभागपछि हटेको हो । अव साउन १ गतेदेखि नै इम्बोस्ड अनिवार्य नहुने भएको छ । यातायात ब्यवस्था विभागले २०७८ कात्तिक २२ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको दाबी गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै विभागले असार मशान्तभित्र इम्बोस्ड प्लेट जडान गरिसक्नुपर्ने नभए कारवाही गर्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको थियो । बिरोधपछि आफनै निर्णय सच्याउदै साउन १ गते विहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनसाय विभागको नभएको जिकिर गरेको छ । गत कात्तिक २२ मा प्रकाशित राजपत्रमा २०७८ मंसिर १ गते देखि नयाँ दर्ता हुने सवारी साधन, फागुन १ देखि नामसारी हुने सवारी साधन र २०७९ जेठ १ देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने उल्लेख थियो ।

विभागले राजपत्रको सूचनामा तोकिएको सवारी साधनमा मात्र अनिवार्य गरेको र अन्य सवारी साधनमा सम्बन्धित सवारी कार्यालयहरुले लट नम्बरअनुसार तोकेर सूचना निकालेर इम्बोस्ड प्लेट जोड्दै जाने बताएको छ । पूर्वाधार तयार भएका बागमती र गण्डकी प्रदेशमा सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सहि नभएको विभागको दाबी छ । विभागले अहिलेकै गतिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा ४० दिनमा २५ लाख सवारी साधनमा जडान गर्न नसकिने पनि स्वीकारेको छ । तर, विभागले राजपत्रको सूचनाअनुसार अनिवार्य गरेका सवारी साधनमा जोडिएको वा नजोडिएको भन्नेबारेमा भने अनुगमन गर्ने बताएको छ ।

यता मंगलबार पनि प्रतिनिधि सभा बैठकमा सांसदहरुले आगामी असारभित्रै सवारी साधनमा इम्बोस्ड नम्बर राख्नुपर्ने यातायात व्यवस्था विभागले जारी गरेको प्रावधान फिर्ता लिन माग गरेका थिए । विभागले अहिले करिब २ लाख ५० हजार इम्बोस्ड नम्बर प्लेट छापिएर भण्डारमा रहेको जानकारी दिएको छ । यस्तो अवस्थामा सवारी धनीले इम्बोस्ड प्लेट स्वेच्छिक मात्रै ठानेको र सवारी कार्यालयहरुले पनि उदासीन भएर सेवा दिइरेको विभागको भनाइ छ । यसले गर्दा ठेकेदार कम्पनीलाई गर्नुपर्ने भुक्तानीको दायित्व सिर्जना हुने अवस्था आएको विभागले स्पष्ट गरेको छ ।

विभागले इम्बोस्ड प्लेट जडानका लागि आवश्यक सबै पूर्वाधार तयार रहेको दाबी पनि गरेको छ । विभागले आवेदन प्रणाली, पर्सानलाइजेसन प्रणाली, फिटिङ गर्ने जनशक्ति, प्लेट ढुवानी व्यवस्था पनि तयार रहेको दाबी गरेको छ । विभागले इम्बोस्ड प्लेट रिड गर्ने आरएफआईडी गेट इम्बोस्ड प्लेटका लागि अनिवार्य नरहेको र उपयोगिता वृद्धि गर्ने संरचना मात्रै भएको बताएको छ । प्लेटको गुणस्तरबारे उठेका प्रश्नमा भने विभाग मौन बसेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #इम्बोस्ड नम्बर प्लेट, #यातायात ब्यवस्था विभाग

तपाईको कमेन्ट लेख्नुहोस्