यथास्थितिमा इन्धन बेच्नै नसक्ने आयल निगमको निष्कर्ष, सरकारसँग गुहार माग्दै पत्र पठाइयो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको खपत कम गर्ने उपायसहित सरकारलाई दश बुँदे सुझावमार्फत गुहार मागेको छ । निगमले आइतबार पनि सार्वजनिक बिदा गर्न, सवारी साधनमा जोर बिजोर लागु गर्न, भन्सार शुल्क र मूल्य अभिवृद्धि कर घटाउने लगायतका प्रस्ताव सरकारलाई पेश गरेको हो । अन्तर्राष्ट्रिय बजार मूल्यवृद्धिका कारण निगम उच्च अंकको घाटामा गएको र त्यसलाई थेग्न नसकिने भन्दै सरकारी बैंक, नागरिक लगानी कोष, संचय कोष जस्ता संस्थाबाट निगमलाई आवश्यक पर्ने रकम सहज र सरल रुपमा उपलब्ध गराउने व्यवस्थाका लागि अर्थ मन्त्रालयले भूमिका खेल्नुपर्ने निगमले सरकारलाई गरेको पत्राचारमा उल्लेख गरिएको छ ।
निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै दश बुँदे प्रस्तावमार्फत अन्तर्राष्ट्रिय बजार अनुसार पूर्णरुपमा मूल्य समायोजन गर्न पाउनुपर्ने या खपत कम गर्ने उपाय अन्तर्गत सार्वजनिक तथा सरकारी सवारीको प्रयोग कम गराउन शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । अत्यावश्यक बाहेकका सवारी साधनमा जोर बिजोर प्रणाली अपनाएमा खपत कम हुने निष्कर्ष निकाल्दै उक्त माग निगमको छ । मासिकरुपमा ९ अर्ब ३१ करोड घाटा निगमले थेग्न नसक्ने देखिएपछि विभिन्न उपायको खोजीमा लाग्नुपरेको निगमले स्पष्ट पारेको छ ।
यस्तै अवस्था रहिरहे इन्धनको आपूर्ति नै गर्न नसक्ने अवस्थामा पुग्ने निगमको भनाइ छ । कोभिडपछि सम्पूर्ण क्षेत्र सामान्यतर्फ उन्मुख भएपछि इन्धनको खपत दैनिकरुपमा बढेको भन्दै निगमले दैनिकरुपमा ३१ करोड घाटा खाएर निगम चल्न नसक्ने बताएको हो । निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ । पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य अभिवृद्धि कर र ग्याँसमा प्रतिसिलिण्डर २०० रुपैयाँ कम गर्न निगमले माग गरेको हो ।
पूर्ण सिट क्षमतामा मात्र सवारी साधनको आवतजावत, विद्युतीय सवारी साधनको प्रोत्साहन लगायत विद्युतीय खपत बढाउन पनि निगमले लेखेको पत्रमा उल्लेख गरिएको छ । हाल दैनिक २५ लाख लिटर पेट्रोल,७० लाख लिटर डिजेल र १ लाख सिलिण्डर ग्यासको खपत भइरहेको निगमले जनाएको छ । दैनिकरुपमा खपत बढ्ने क्रम उकालो लागिरहेको भन्दै निगमले इन्धन ल्याउने सबै स्रोत सकिएपछि सरकारलाई गुहार गरेको स्पष्ट पारेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उद्योग वाणिज्य तथा आपूर्ति, #दश बुँदे सुझाव, #नेपाल आयल निगम
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्