Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी तीव्र,१९ गते मोदीसँग भेटवार्ता


काठमाडौं । भारत भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते दिउसो नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन । उनी दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलमा उनको स्वागतपछि उनी बस्ने होटल मौर्य आईसीटी पुग्नेछन् । त्यही दिन साँझ नेपाली दूतावासले प्रधानमन्त्री देउवाको स्वागत सम्मान कार्यक्रम राख्ने छ । भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मा देउवाको भ्रमण तयारीका लागि सोमबार दिल्ली पुगिसकेका छन् ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री देउवा औपचारिक भेटवार्तामा व्यस्त हुनेछन् । शनिबार उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा औपचारिक छलफल गर्नेछन् । छलफलमा सीमा समस्या, बिजुली आयात/निर्यात, मलको सहज आपूर्ति, व्यापार लगायतका विषय रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारी आनन्द शर्माले प्राइम टाइम्स टेलिभिजनलाई जानकारी दिएका छन ।

त्यस्तै देउवा र मोदीले संयुक्त रुपमा भर्चुअली जनकपुर–जयनगर रेल्वेको उद्घाटन गर्नेछन् । त्यही बेला जनकपुरमा रेल सञ्चालनमा ल्याउनुका साथै औपचारिक समारोह हुनेछ । जयनगर–जनकपुर–कुर्था–बिजलपुरा–बर्दिबास रेल खण्ड भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । त्यस्तै देउवाले भारतीय विदेश मन्त्री एस.जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट्ने छन् । भारतीय उद्योगी व्यवापारीहरुसँगको अन्तरक्रिया उनी बसेकै होटल मौर्यमा हुनेछ ।

तेस्रो दिन आइतबार देउवा उत्तर प्रदेशको बनारसका लागि प्रस्थान गर्नेछन् । देउवाले त्यहाँ काशी विश्वनाथ मन्दिर, नेपाली पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । बनारसमा उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने छन् । त्यहीदिन अपरान्ह प्रधानमन्त्री देउवा काठमाडौं फर्किनेछन् । नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली नियमित उडानबाटै प्रधानमन्त्री देउवा दिल्ली जाने छन् । यो भ्रमणले नेपाल र भारत बीचको सम्बन्धमा नयाँ आयाम ल्याउने अपेक्षा परराष्ट्र मनत्रालयको छ ।

गत असारमा पाँचौँ पटक प्रधानमन्त्री भएका देउवाको यस पटकको कार्यकालको यो पहिलो भारत भ्रमण हो । देउवाका साथमा उनकी पत्नी आरजु देउवासमेत रहनेछन् । भ्रमण टोलीमा पराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव,केही मन्त्रालयका सचिव तथा सरकारी अधिकारीहरु, प्रधानमन्त्रीको निजी सचिवालय, निजी क्षेत्र र मिडियाका प्रतिनिधिहरुको टोलीको सहभागिता रहनेछ ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, #भारतीय समकक्षी नरेन्द्र मोदी, #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्