Techie IT
  • ८ असार २०८२, आईतबार
KhojPatrika

उच्च अदालत पाटनमा कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्धा


काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो । ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने दायर गरेको मुद्दामा उल्लेख छ ।

विभागले २०७१ सालमा कम्पनीको सेयर विक्री गर्दा भएको लाभको कर नबुझाएको भन्दै कुल ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ बिगो र त्यसको सत प्रतिशत जरिवाना गरेर कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबी गरिएको छ । कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागले जनाएको छ ।

नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा २४ (२०७७ फागुन ७ गते) कोकाकोला साब्को आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ । बोटलर्स नेपाल लिमिटेडको स्वामित्वमा रहेको सेयर बेच्दा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायलाई जानकारी नै नदिई कर छली गरेको विभागको दाबी छ ।

काठमाडौं महानगरपालिका १६ स्थित बालाजु औद्योगिक क्षेत्रमा रहेको बोटलर्स नेपाल लिमिटेडलाई मुख्य प्रतिवादी बनाइएको छ । बोटलर्स नेपालको सञ्चालक समितिमा उक्त कम्पनीको सेयर होल्डर संयुक्त अरब इमिरेट्सको दुबईस्थित ‘कोकाकोला साउथवेस्थ होल्डिङ लिमिटेड’ र साविकको ‘कोकाकोला साब्को एसिया’को तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

कम्पनीका अध्यक्ष शुक्ल वासन, निर्देशकहरु मेल्भिन तान चुन पिन, मोहम्मद अमिन घोनिम, गौरव खोस्ला, सन्दीप बजोरिया, देबव्रत मुखर्जी, सुमन्त दत्त, जवाहर सोलाई कुप्पुस्वामी र संकित रे रहेका छन् । त्यस्तै कम्पनीको प्रबन्ध निर्देशक तथा आर्थिक कारोबार र लेखा परीक्षणको जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई पनि विभागले मुख्य प्रतिवादी बनाएको छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डे र पुनीत चन्द्रपाल भर्स्नी, वित्त व्यवस्थापकहरु राजीव टण्डन, भरतबाबु दहाल र सुमित गोयल विरुद्धसमेत मुद्दा दायर गरिएको छ । त्यस्तै, वित्त नियन्त्रक अशोककुमार मण्डल, बोर्ड डाइरेक्टर त्रिलोचन उप्रती र चार्टर अकाउन्टेन्ट संजिव कुमार मिश्रलाई पनि प्रतिवादी बनाइएको छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कर छलीको मुद्दा, #बहुराष्ट्रिय कम्पनी, #बोटलर्स नेपाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं