Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

सहकारीमा पैसा फिर्ता लिनै सकस, काठमाडौंमा ३२ सहकारीमा १ हजार ४ सय सदस्यको रुवावासी


काठमाडौं । दैनिक ज्याला मजदुरी गरी सहकारीमा जम्मा गरेको रकम नै फिर्ता नपाएपछि बचतकर्ताहरु हैरान भएका छन् । काठमाडौं महानगरपालिका सहकारी बिभागमा यस्तै उजुरी परेपछि सहकारीले पैसा फिर्ता गर्न नसकेको तथ्य बाहिरिएको हो । महानगरको सहकारी विभागले ३२ वटा संस्थालाई कारवाहीका लागि प्रहरीमा पत्राचार गरेको छ । ३२ सहकारी संस्थाका १ हजार ४ सय १ बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो सहित पत्र विभागमा दिएका थिए ।

विभागले पटकपटक ती संस्थाका सञ्चालकहरुलाई सदस्यको बचत फिर्ता गर्नका लागि ताकेता गर्दा समेत आनाकानी गरेपछि कारवाहीको प्रक्रिया अघि बढाइएको हो । विभागमा सहकारी संस्थाका सदस्यहरुले विभिन्न समयमा बचत फिर्ताका लागि पहल गरिदिन निवेदन दिएका थिए । प्रहरीमा उजुरी लेखाइएका सहकारीहरुमध्ये आनन्दनगर साकोसका सबैभन्दा बढि सदस्य रहेका छन् । सो सहकारीका १ हजार ४९ सदस्यको १४ करोड ६० लाख ८६ हजार रकम सञ्चालकले हिनामिना गरेको उजुरी परेको छ ।

जनजीविका साकोसले ३५ करोड १९ लाख १४ हजार, स्वतन्त्र शान्ति साकोसले २ करोड ५८ लाख ९३ हजार, बिजनेस साकोसले २ करोड ५८ लाख रकम हिनामिना गरेको उजुरी परेको विभागकी उपनिर्देशक विमला कोइरालाले जानकारी दिइन । प्रहरीलाई लेखिपठाउनुपूर्व ती संस्थाका सञ्चालकलाई विभागमा सम्पर्क गर्न पटकपटक गरी ३ महिनाको समय दिएको, त्यो समयभित्र पनि सम्पर्कमा नआउने संस्थाहरुलाई भने बाध्य भएर ठगी मुद्दामा कारवाहीका लागि प्रहरीकहाँ पत्राचार गरेको कोइरालाको भनाई छ ।

अझ उजुरी परेपछि हिरासतमा बस्नुपर्ने र सामाजिक प्रतिष्ठा गुम्ने डरले कतिपय संस्थाहरुले प्रहरीमा उजुरी परेपछि सदस्यको पैसा फिर्ता गर्ने हतारो गरेका छन् । विभागले हालसम्म ५० वटा संस्थालाई कार्यालयबाटै मिलापत्र गराएको थियो । संस्थाहरुले सन्दर्भ ब्याजदरभन्दा बढि ब्याजमा ऋण लगानी गरेको भेटिएमा सन्दर्भ ब्याजदर कायम गरी ऋण असुली गरी बचतकर्तालाई फिर्ता गर्ने गरेको र हालसम्म ४० लाखको हाराहारीमा ऋण असुली गरी पीडित बचतकर्तालाई फिर्ता दिलाएको उनले जानकारी दिइन ।

काठमाडौं  महानगरपालिका अन्तर्गत १८०० भन्दा बढि सहकारी रहेपनि ८५० संस्थाले मात्रै कारोबार अद्यावधिक गराइरहेका छन् । कोरोना महामारीको समयमा बचत फिर्ता दिन नसकेका केही सहकारीले अहिले पैसा फिर्ता दिने प्रतिबद्धता समेत गरिरहेका छन् ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उपनिर्देशक विमला कोइराला, #काठमाडौं महानगरपालिका सहकारी बिभाग, #बचतकर्ता

तपाईको कमेन्ट लेख्नुहोस्