Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

राष्ट्रिय सहकारी बैंकमा के.वी.सहित सञ्चालकको चरम मनोमानी,बैंकसँगै डुब्दैछन सयौँ सहकारी


काठमाडौं । उत्कृष्ट वित्तीय सेवा सहितको राष्ट्रिय सहकारी बैंकको नारा बोकेर स्थापित भएको बैंक हो, सहकारी बैंक । सदस्यहरुको दीगो विकासका लागि नवीनतम प्रविधिसहित प्रतिस्पर्धी एवम् गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्ने लक्ष्य राखेको यो बैंक अहिले प्रतिस्पर्धाका लागि अर्को बैंक आउनबाट रोक्ने अभियानमा सक्रिय छ । नेतृत्व एवम् व्यावसायिक जनशक्ति विकास र परिचालन गरी जिम्मेवार व्यवसाय सञ्चालन मार्फत बैंक र सदस्यहरुमा संस्थागत सुशासन कायम गर्ने-गराउने दाबी गर्ने राष्ट्रिय सहकारी बैंक सहकारी अभियानको संस्थागत विकास र सुशासनमा भन्दा कमाउ धन्दामा सक्रिय देखिएको छ ।

अर्कोतर्फ तरलता अभाव छैन भन्ने दाबी गर्दै आएको राष्ट्रिय सहकारी बैंकले यतिबेला मागेजति ऋण प्रवाह गर्न सकेको छैन भने बचतको पैसा फिर्ता माग्न पुगेका सहकारीहरू नै बारम्बार फर्किनुपर्दा आजित छन् । कम्युनिस्ट समर्थक सहकारी संस्थाका रुपमा परिचित सहकारी बैंकमा रकम जम्मा गरेका सहकारीहरू पैसा फिर्ता माग्दै दिनहुँ धाइरहेका कतिपय सञ्चालक सहकारी बैंकले रकम फिर्ता गर्न नसकेको बताउँछन् । बैंकको वासलत अनुसार ७१ अर्व ६९ करोड बढी निक्षेप छ । ४० अर्बभन्दा माथि लगानी गरिएको छ । यो सहकारी बैंकमा तरलताको अभाव चरम देखिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सहकारीहरूले करोडौँ पैसा राखेका छन् । सहकारी बैंकमा १३ हजार ७ सय १२ वटा सहकारीहरु जोडिएका छन् । यी सहकारीमा लाखौं शेयर सदस्य र बचतकर्ता छन् । बैंकका पदाधिकारीको कमाउ धन्दाका कारण धरासायी भएमा अर्बौ पैसा डुब्ने छ ।

सहकारी बैंकमा १३ हजार ७ सय १२ वटा सहकारीहरु जोडिएका छन् । यी सहकारीमा लाखौं शेयर सदस्य र बचतकर्ता छन् । बैंकका पदाधिकारीको कमाउ धन्दाका कारण धरासायी भएमा अर्बौ पैसा डुब्ने छ ।

बैंक डुब्ने अवस्थामा पुगेको आशंका पछि सहकारीहरूले पैसा फिर्ता माग्दा अध्यक्ष के.वी. उप्रेती र कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइँले पैसा दिन अस्वीकार गरेको आरोप छ । बैकको तरला १५ प्रतिशतभन्दा बढी हुनुपर्नेमा ५ प्रतिशत पनि छैन । गलत नीति र व्यवस्थापनका कारण सदस्य सहकारीहरू समस्यामा परेको गुनासो गरिरहेका छन् । अध्यक्ष उप्रती मात्रै नभएर कार्यकारी अधिकृत गुरागाइँ समेत बित्तिय क्षेत्रका माहिर खेलाडीका रुपमा परिचित छन् । यी दुई र अन्य सञ्चालकसमितिका बहुमत सदस्यहरु संस्थागत विकास र सुशासनमा भन्दा व्यक्तिगत लाभमा केन्द्रीय भएको नाम सार्वजनिक नगर्ने सर्तमा कतिपय सञ्चालकहरुले नै बताउने गरेका छन् ।

राष्ट्रिय सहकारी बैंकमा कम्युनिस्टमा पनि एमाले समर्थकहरूको बर्चश्व छ । एमालेहरूले जहाँ हातहाल्छन् त्यहाँ भाँडभैला मचाउँछन् भन्ने उखान सहकारी बैंकले समेत चरितार्थ गरेको कतिपय सहकारी सञ्चालकले खोज पत्रिकालाई बताए । बैंकले तजविजका आधारमा विनाधितो १० अर्बभन्दा माथि लगानी गरेको पाइएको छ । नाम गोप्य राख्ने सर्तमा बैंककै एक कर्मचारिले हरेक ऋण प्रवाहमा कमिशनको खेल हुने गरेको पार्टीगत झुकाब र निकटता भएकाहरुलाई मागेजति ऋण प्रवाह र अन्यलाई मागेको भन्दा पाउसक्ने भन्दा निक्कै थोरै ऋण प्रवाह हुने गरेको बताए ।

अर्कोतिर बिना धितो व्यक्ति जमानी बसेर ऋण दिइदा आइपर्ने जोखिम बहन गर्न को तयार छ भन्ने प्रश्न समेत सहकारी बैंकमाथी उठेको छ । धारासायी बनेका सहकारीलाई नै धितो बिना ऋण दिएर मनोमानी गर्दैआएको सहकारी बैंक अहिले केही सुध्रिएजस्तो देखिएपनि व्यक्तिगत हितको भित्रि खेलले कतिपय कर्मचारि र सञ्चालक नै आजित भएका छन् । अनुमति र कानुनी अधिकार नै नभएको लगुबित्त कर्जाका नाममा सहकारिमा ठूलो लगानी भैरहेको छ । अहिलेसम्म कुनै पनि सहकारिले लघुबित्तको लाइसेन्स पाएका छैनन । कुल कर्जा लगानी ३५ अर्व ९१ करोड माथि रहेकोमा लघुबित्त कर्जा मात्रै २ अर्व ३४ करोड रहेको छ ।

त्यस्तै, घर घडेरी खरिद तथा भवन निर्माण कर्जाका नाममा १ अर्व ३ करोड लगानी भएको देखिन्छ । आफू निकटका ब्यवसायीहरुलाई गुडविलका नाममा अध्यक्ष उप्रेति र उनको समूहले ब्यवसायी किस्ताबन्दी कर्जा ३ अर्व ७७ करोडभन्दा बढी निकासा गरेको देखिन्छ । यी बिभिन्न शिर्षकका कर्जामा समेत कमिसनको खेल हुने गरेको सहकारीकर्मीहरु बताउछन् । यसको नियमन र लगानीको अवस्था बारे एकिन गर्न कसैले चासो दिएको देखिदैन ।

राष्ट्रिय सहकारी बैंक र हाम्रो सगरमाथाको दुबैको अध्यक्ष एउटै व्यक्ति उप्रती छन्, उनले विगतमा आफ्नै सहकारीलाई ठूलो रकमको बिना धितो कर्जा प्रवाह गरेर विभेदको सुरुवात गरेकाले अहिले पनि सहकारीबीच बिभेद गरिएको छ भन्ने प्रश्न उब्जिरहेको छ । सहकारीलाई ऋण दिन नमिल्ने नियम उल्लंघन गरेर ऋण लगानी, नक्कली वासलत बनाइएको आरोप समेत सहकारी बैंकका अध्यक्ष र सञ्चालकमाथी लाग्दै आएको छ । पछिल्लो वासलतबाट सहकारी बैंको अवस्था सकारात्मक सूचकमा अघि बढेको देखिएपनि सञ्चालकको भित्रि खेल भने निक्कै डरलाग्दो छ । जसका कारण संस्थागत हित भन्दा व्यक्तिगत उन्नती बढी देखिएको छ ।

हिजोको हैसियत र आजको रबाफले नै सहकारी बैंक कसरी डुब्दैछ भन्ने प्रमाणित गर्छ ।

हिजोको हैसियत र आजको रबाफले नै सहकारी बैंक र यसले निकट मानेका सहकारीहरु कसरी अघि बढेका छन् । बचतकर्ता र सेयर सदस्यको हित भैरहेको छ वा सिमित सञ्चालकको भन्ने आफै उदांगो पारिरहेको छ । तर चरम व्यथिति झांगिएको सहकारि क्षेत्रलाई सुधार्नुपर्ने अभियन्ताहरु गुमनाम देखिदा स्थानीय सरकार, प्रदेश सरकार सहकारी विभाग र नेपाल राष्ट्र बैंक नियमन र सुधार भन्दा व्यथितिको लाभमै रमाइरहँदा करोडौँ सहकारी सदस्य र बचतकर्ताको भविश्य अन्यौल बनेको छ ।
सहकारी बैंकमा सञ्चालकको आचरणमाथी नै गम्भिर प्रश्न ?
केही वर्ष अघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिबारी र राष्ट्रिय सहकारी बैंकका कार्यकारी अध्यक्ष के.वी. उप्रेतीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान गरेको थियो । सिभिल होम्स प्रालिका अध्यक्ष रहेका हाउजिङ व्यापारी तथा पूर्वसांसद इच्छाराज तामाङ (अहिले हिरासतमा रहेका) माथि पनि छानबिन भएको थियो । २०७४ माघ १५ र २०७५ जेठ २२ गते बसेको प्राधिकरण सञ्चालक समिति बैठकले सिभिल ग्रुपका नाममा सुनाकोठीको २ रोपनी १ आना १ दाम ३ पैसा पर्ति जग्गा सिभिल होम्स प्रालिका नाममा हुनेगरी निर्णय गरेको थियो । सोही जग्गामध्येको कित्ता नम्बर १७१ सहित आवासीय समाजको स्वामित्वमा भएको जग्गा धितो राखेर तामाङले २०७५ साउनमा २० मा ९ करोड १६ लाख रुपैयाँ सहकारी बैंकबाट कर्जा लिएका थिए । यसमा अध्यक्ष उप्रतीको बद्नियतपूर्ण भुमिका खेदिएको थियो ।

यता, चेक बाउन्सदेखी ढुकुटी काण्डमा मुछिएर कारबाही भोगेका केदार मानन्दरसहित सहकारि अभियानका नाममा चरम मनोमानी गर्नेहरु नै अहिले सहकारी बैंकमा हाबी भएका छन् । उनीहरु सहकारी बैंकको आवरणमा कमाउने धन्दामा मात्रै मस्त देखिन्छन् । सदस्यहरुको दीगो विकासका लागि नवीनतम प्रविधिसहित प्रतिस्पर्धी एवम् गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्ने स्लोगनका साथ स्थापित सहकारि बैंक यतिबेला मनलाग्दी ऋण प्रवाह गर्ने केन्द्रीय पदाधिकारि, सञ्चालक समिति र माथिल्लो तहका कर्मचारिको कमाउ धन्धाको केन्द्र बनेको छ । बेला बेलामा यहाँका व्यथितिहरु सहकारि विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो र अख्तियारसम्म पुगेपछि शक्ति पँहुच र पैसाको बलमा यत्तिकै तुहिने गरेका छन् ।

सहकारी ऐन २०७४ मा समेत अनाधिकृत रुपमा सुरक्षण बिना ठूलो रकम जमानतमा ऋण प्रदान गर्न नपाईने ब्यवस्था ।

धारासायी बनेका सहकारी जोगाउने भन्दा राजनीतिक आस्था, निकटता र कमिसन बुझाउनेहरुलाई बलियो साथ दिने सहकारि बैंकबाट हजारौँ सदस्यहरु पीडित बनेका छन् । सहकारी ऐन २०७४ ले समेत अनाधिकृत रुपमा सुरक्षण बिना ठूलो रकम जमानतमा ऋण प्रदान गर्न नपाईने उल्लेख भएपनि सहकारी बैंकले ३० करोडभन्दा बढी लगानी यसैगरी गरेको छ । सहकारी बैंकको क्षेत्राधिकार सहकारी सँस्थाहरुसँग वित्तीय कारोबार गर्नु हो । तर घुमाउरो पारामा सहकारीहरु मार्फत चाहेको व्यक्तिहरुका लागि ऋण उपलब्ध गराउने काम गर्दैआएको आरोप लाग्दैआएको छ ।

विश्वस्त श्रोतका अनुसार बैंकले सहकारीहरुलाई मात्रै होईन ईच्छाएका ब्यक्तिहरुको हात सम्म पनि सहकारी संस्थाहरु मार्फत ठूलो रकम पुर्याउने काम गरिरहेको पाइएको छ । हालिमुहाली गरिरहेका सहकारी बैंकका अध्यक्ष उप्रती भने आफूमाथी लागेका आरोप गलत भएको दाबी मात्रै गरिरहेका छन् । कतिपय सहकारी अभियन्ताहरु सहकारी बैंकका सञ्चालकहरुले आफ्नो सम्पती छानविनको खुला आह्वान गर्न सकेमात्रै विश्वास गर्न सकिने दाबी मात्रै गर्दैनन, सहकारी बैंक र सहकारीको पैसा अपचलन भइरहेको बताउँछन् ।

हामी सहकारी अभियान र सहकारी बैंकका व्यतिथिको निरन्तर चिरफार गर्नेछौँ । अर्को श्रृङ्खलामा सहकारि बैंकमा के कस्ता पात्रहरु हाबी छन्, कसरी ऋण प्रवाहका नाममा कमिशनको खेल हुन्छ ? सहकारि बैंकसँगै अन्य सहकारीका नाममा रोडबाट करोडमा खेल्ने हैसियतमा पुगेकाहरुको नालीबेली प्रस्तुत गर्नेछौँ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यक्ष के.वी. उप्रेती, #बद्रीकुमार गुरागाइँ, #राष्ट्रिय सहकारी बैंक, #सहकारी बैंक

तपाईको कमेन्ट लेख्नुहोस्