Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

औषधि व्यवस्था विभागमा दुई महानिर्देशक,को पहिला अफिस पुगी कुर्सीमा बस्ने भन्ने होडबाजी


काठमाडौं । कर्मचारीको सरुवा बढुवा नियमित प्रक्रिया हो । तर,मन्त्री र उपल्ला तहका कर्मचारीको स्वार्थका कारण समयअवधि नसकिदै कर्मचारीको सरुवा गर्ने संस्कार विकसित हुँदा समस्या पैदा हुने गरेको छ । गत मंगलबार स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई जिम्मेवारी दिएर तत्कालिन महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशाला प्रमुखमा सरुवा गरेका थिए । तर, रोचक भट्टराई र ढकाल दुबैले विभागको महानिर्देशककै रुपमा हाजिर यतिबेला गरिरहेका छन् ।

ढकालले प्रयोगशालामा जान नमानेपछि सरुवा भएर विभाग आएका भट्टराई हाजिर गरेर बस्ने ठाउँ समेत पाएका छैनन् । ढकाल बिहाननै विभाग पुगेर महानिर्देशकको कुर्सीमा बसीसकेका हुन्छन् । भट्टराईले जिम्मेवारी दिएको सात दिन पुग्दा समेत बस्ने कुर्सी पाएका छैनन् । ढकालले सरकारले योग्यता अनुसारको जिम्मेवारी नदिएको कारण महानिर्देशकबाट छोडिहाल्ने अवस्था नभएको आफू निकटहरुलाई बताउने गरेका छन् । उनले कानुनी रुपमा सरकारले सरुवा गरेको २१ दिनसम्म अझै मलाई महानिर्देशकमा बस्ने अधिकार भएको बताएका छन् ।

विभागको महानिर्देशक पद र प्रयोगशालाको निर्देशक पद दुबै एघारौँ तहको कर्मचारी हुने व्यवस्था छ । महानिर्देशक बनेका ढकाल र भट्टराई दुबै जना एघारौं तहका कर्मचारी हुन् । भट्टराई भने कर्मचारीबाट हुनुपर्ने न्यूनतम व्यवहार ढकालबाट नपाएको गुनासो गर्छन् । साढे ४ महिना अघिसम्म अर्थात १५ भदौसम्म भट्टराई औषधि व्यवस्था विभागको महानिर्देशक थिए । त्यसपछि सरकारले उनलाई प्रयोगशालाको जिम्मेवारी दिएको थियो । तत्कालिन सरकारले ढकाललाई तेस्रो पटक महानिर्देशकको जिम्मेवारी दिएको थियो ।

साढे चार महिनापछि यी दुई बीचको जिम्मेवारी पुनः उल्टिएको छ । ढकाललाई तीन–चार दिनको समय दिँदा पनि कुर्सी नछोडेको भट्टराईको गुनासो छ । ढकाल सरुवा भएको पत्र आइतबार विभागमा आएको छ । पत्र आएर रमाना तयार भएपनि ढकालले रमाना पत्र बुझ्न मानेका छैनन् । भट्टराई भने रमाना पत्र लिएर विभागमा महानिर्देशकका रुपमा आइतबारदेखि नै हाजिर भइसकेका छन् । पछिल्लो समय औषधिको मूल्यलाई लिएर ढकाल विवादमा तानिएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #नारायण ढकाल, #भरत भट्टराई, #विभागमा दुई महानिर्देशक, #विरोध खतिवडा

तपाईको कमेन्ट लेख्नुहोस्