नारायणहिटी जग्गा लिज प्रकरणमा यसरी जोडिएका थिए योगेश भट्टराई

काठमाडौं । रोयल बगैँचा रेष्टुरेन्टको नाममा नारायणहिटी संग्रालयको जग्गा लिजमा दिने बिषयमा आफनो संलग्नता नभएको दाबी गर्ने योगेश भट्टराईको भूमिका शंकास्पद देखिएको छ । तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराई र दिवंगत स्वर्गिय पूर्व पर्यटन मन्त्री रविन्द्र अधिकारीको समेत जग्गा लिजमा दिने निर्णयमा सहभागिता देखिएको छ । जग्गा कब्जा गर्ने षडयन्त्रमा सहयोग नगनेपछि तत्कालिन पर्यटन सचिव कृष्ण प्रसाद देवकोटाको सरुवा समेत भएको पाइएको छ । हाल अमेरिका भ्रमणमा रहेका देवकोटाले आफ्नो सरुवा सोही प्रकरणमा गरिएको बताए ।
बतास समुहलाई नारायणहिटीमा भित्र्याउने प्रमुख खलपात्र भेषनारायण दाहालले उक्त फाइल बोकेर पूर्व सचिव देवकोटाकामा पुगेको र देवकोटाले फाइल फर्काएपनि तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले उक्त फाइल जगाएर दाहाललाई नै नारायणहिटी संग्राहलयको महानिर्देशक नियुक्त गरेर बतासलाई दरबारको जग्गा बुझाएको पाइएको हो । दाहालले उक्त ठेक्का बतासकै लागि खोल्न लागिएको भनेर पूर्वसचिव देवकोटालाई सुनाएका थिए । तर, यस्तो फाइल बोकेर नआउनु भनेर हप्काएर पठाएपनि राजनीतिक नेतृत्वले यो फाइल जगाएर जग्गा कब्जा गरेको उनको भनाई छ ।
देवकोटा पर्यटन सचिव रहँदा पर्यटन मन्त्री रहेका स्वर्गिय रविन्द्र अधिकारी समेत यो प्रकरणमा मुछिएका छन् । ‘तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पनि केही बाध्यता थियो होला, उहाँको चासो सुनेपछि मैले यो काम गर्न हुन्न भनेर अडान लिएँ । तपाईंले मेरो जागिर खाने हुनुभयो भनेर उहाँ (रविन्द्र) पनि निराश हुनुभएको थियो,’ उनले भने । मन्त्री अधिकारीले केहीदिन पछि कुरा गर्दा तपाईंको सरुवा भए अन्यथा नमान्नुहोला है भनेको उनले बताएका थिए । पर्यटन मन्त्रालयबाट सरुवा भएर खेलकुद मन्त्रालय पुगेका उनले विदाई कार्यक्रममा समेत आफ्नो सरुवा व्यापारीले गरिदिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली समेत असन्तुष्ट बनेका थिए । १५ फागुन २०७५ मा तत्कालिन पर्यटन मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भयो । उनको निधनपछि १५ साउन २०७६ मा योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त भएका थिए । आफू मन्त्री भएको ३ महिना १५ दिनमा भट्टराईले बतासको फाइल बोकेर मन्त्रालय पुग्ने विवादास्पद व्यक्ति भेषनारायण दाहाललाई नै बिना प्रतिष्पर्धा नारायणहिटी राजदरबार संग्राहलयको महानिर्देशक बनाएका थिए ।
संग्रहालय भित्र रेष्टुरेन्ट सञ्चालनका लागि भाडामा दिन निर्णय भएको मिति २०७६ चैत्र १९ गते, टेण्डर सुचना प्रकाशित भएको मिति २०७७ साउन २६ गते र पुस ५ मा भएको कम्पनि छनौटको मितिसम्म योगेश नै पर्यटन मन्त्री थिए । २०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेपछि भट्टराईले राजिनामा दिएका थिए । तर, उनैले निर्धारण गरेको प्रक्रियाको आधारमा पुस १७ गते बतास र संग्रहालयबीच भाडा सम्झौता भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्