Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

हिजोका शक्तिशाली पुष्पकमल दाहाल प्रचण्ड,आज अर्कैको हात समाउने ध्याउन्नमा

पहिला एक्लै चुनाव लड्ने माओवादी अहिले गठबन्धनमै जोड दिदैं


काठमाडौं । नेपाली राजनीतिका चतुर खेलाडीका रुपमा परिचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्वार्थ अनुकुल बोली फेरिरहने नेताका रुपमा समेत परिचित छन् । राजनीतिक स्वार्थका लागि उनी जहिले जसको पक्षमा समेत उभिन तयार देखिन्छन् । तर, ३० वर्ष पार्टीको नेतृत्वमा रहँदा समेत उनी आन्तरिक लोकतन्त्रमा भने सधैँ कमजोर देखिएका छन् । नेकपा माओवादी केन्द्रको आठौ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको छ ।

२०६९ सालमा अन्तिम पटक महाधिवेशन गरेको माओवादी केन्द्र बिस्तारै वैधानिकताको जोखिममा भासिँदै भएको हुँदा यो महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रलाई अबको ५ वर्ष खुट्टा टेक्ने राजनीतिक धरातल दिएको छ । त्यही कारण राष्ट्रिय सम्मेलनको तयारी गर्दै आएको यो दलले अन्तिम समयमा यही सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । हुनत प्रचण्डसँगै माओवादी केन्द्र राजनीतिक रुपमा सधैँ अस्थिर देखिएको छ । अस्थिरता कै कारण फुट र जुटले गर्दा बेला बेलामा माओवादी केन्द्रको नाम फेरिँदै आएको छ ।

प्रचण्डको नेतृत्वमा ३ दशक नेपालको राजनीतिमा सक्रिय यो दलले ससस्त्र विद्रोहदेखि संसदिय राजनीतिको स्वाद चाखिसकेको छ । तर, यो अवधिमा माओवादी पार्टी र प्रचण्डको कार्यशैली कहिल्यै लोकतान्त्रिक बन्न सकेन । उनले माओवादीमा कहिल्यै आन्तरिक प्रतिस्पर्धालाई रुचाएनन् । झन्डै १७ हजार नेपालीको ज्यान लिएको ससस्त्र द्धन्द्धका बेला समेत आफूलाई टक्कर दिने खोज्नेलाई भौतिक कारवाही गर्न समेत उनी कहिल्यै हच्कीएनन् । विरोधीलाई तह लगाउने प्रचण्डको शैलीमा अहिले परिवर्तन आएपनि स्वभाव भने बदलिएको छैन । त्यही कारण शान्तिपूर्ण राजनीतिमा अवतरण भएसँगै ससस्त्र द्धन्दका बेला उनलाई साथ दिने धेरै नेताहरु टाढा भइसकेका छन् ।

आफ्नाले साथ छोड्दा समेत उनी सच्चिन चाहेका छैनन् । अहिले पनि आफ्नै शैलीमा पार्टी हाँक्न चाहन्छन् । आफ्ना धारणामा नेता कार्यकर्ताले थपडि मात्रै बजाउनु भन्ने चाहन्छन् । शसस्त्र द्धन्द्धमा खाएको हण्डर र दुखलाई परिपूर्ति गर्न शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्डको जीवन विलासी बनेको छ । सर्वहाराका लागि राजनीति गर्ने दाबी गर्ने पार्टीका उनी मात्र नभएर अन्य नेता समेत विलासी बन्दैछन् । जसले गर्दा शान्तिपूर्ण राजनीतिमा कदम राख्दा प्रचण्डको जुन ओज थियो, अहिले ती सबै हराएका छन् । यो आरोपसँग उनी स्वयं समेत विमति राख्दैनन् । साथै यो महाधिवेशनको समाप्तिसँगै आफूमा रुपान्तर आउने दाबी समेत गर्छन् । तर, कस्तो परिवर्तन भन्ने कुरा भने खोल्न चाहँदैनन् ।

झन्डै १३ वर्ष भूमिगत राजनीतिक जीवन बिताएका प्रचण्ड २०६२–६३ को जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा अवतरण भएसँगै दुई पटक मुलुकको प्रधानमन्त्री बनिसकेका छन् । साथै नेपालको राजनीतिमा उनले सधैँ चतुर खेलाडीका रुपमा आफूलाई प्रस्तुत गरेका छन् । राजनीतिक स्वार्थ पुरा गर्न उनले मुलुकका सबै जसो राजनीतिक दलसँग पनि सहकार्य गरेका छन् । त्यही कारण कहिले उनी आफैँ प्रधानमन्त्री बने भने कहिले अरुलाई बनाए । शक्तिमा काबिज रहने चाहनामा उनले जसलाई पनि धोका दिन सक्छन् भन्ने आरोप नयाँ पनि होइन । कीनकी उनले पार्टीको नेतृत्व लिँदा समेत आफ्नै राजनीतिक गुरु मोहनविक्रम सिंहलाई समेत धोका दिएका थिए ।

अहिले उनी शक्ति राष्ट्रसँग नजिकको सम्बन्ध बनाउनु पर्छ भन्ने मान्यतामा सजक बनेका छन् । त्यसैले उनी आफ्नै पार्टीबाट विरोध भइरहेको एमसीसी सम्झौता पारित गर्नु पर्ने पक्षमा घुमाइउरो पाराले उभिन थालेका छन् । सधैँ फुटको राजनीतिका कारण नेकपा एमालेसँगको एकता, माओवादी केन्द्रको राष्ट्रिय राजनीतिमा अड्ने बलियो आधार बनेको थियो । तर, नेकपा नै विघटन भएको कारण माओवादी पुरानै संरचना फर्किएको छ । पार्टीको संगठन र विचार तय गर्ने जिम्मा फेरि प्रचण्डको काँधमा आएको छ । त्यही कारण अब स्पष्ट सिद्धान्त र बलियो संगठन बनाउन नसकेको खण्डमा माओवादी केन्द्रको मात्र नभएर प्रचण्डको राजनीतिक भविष्य समेत अन्यौलमा पर्ने देखिन्छ ।


क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

तपाईको कमेन्ट लेख्नुहोस्