Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

माओवादी महाधिबेशनमा एमसीसीदेखि नेकपा बिभाजनसम्मका कुरा,आफनै नेताहरुको असन्तुष्टि

एमसीसी सम्झौता पढ्न प्रधानमन्त्री देउवाको सुझाव,राष्ट्रघात नभएको जिकिर


काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिबेशनमा नेताहरुले एमसीसीदेखि एमाले माओवादीको पार्टी एकता टिक्न नसकेको सम्म कुरा उठाएका छन् । महाधिबेशनको उद्घाटन समारोहमा पुगेका नेताहरुले महाधिबेशन सफलताको शुभकामना मात्रै दिएनन् सहकार्य र फुटबारे आवाज समेत उठाएका छन् । माओवादी नेताहरुले पार्टीका गतिविधिमा समेत असन्तुष्ट खोलेका छन् । कुन नेताले महाधिबेशनमा के भने त ?
पार्टी एकता गल्ती थिएनः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गरेको पार्टी एकता गल्ती नभएको जिकिर गरेका छन् । पार्टीको आठौं महाधिवेशनको उद्घाटनमा प्रचण्डले के कारणले पार्टी एकता भंग भयो त्यसको आत्मसमीक्षा गर्नुपर्ने बताए । महाधिवेशनको उद्घाटनमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो भएको बताएका थिए ।

उनको भनाइको प्रशंसा गर्दै प्रचण्डले एकता किन जोगिएन भनेर आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पछिल्लो समय धेरै नजिक भएर काम गरेको भन्दै प्रचण्डले गठबन्धन भन्दा अगाडि बढ्न चाहेको प्रस्ताव गरे । आफूले आठौं महाधिवेशनमा पेश गर्ने राजनीतिक दस्तावेजमा सबैभन्दा बढी आफ्नै आत्मसमीक्षा गरेको प्रचण्डको भनाई छ ।
एमसीसी सम्झौता पढ्न प्रधानमन्त्री देउवाको सुझाव,राष्ट्रघात नभएको जिकिर
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको जिकिर गरेका छन् । देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले एमसीसी पढेका छन् भनेर प्रश्न गरेका थिए । ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्यो एमसीसी, कहाँ छ राष्ट्रघात ? मैले त कहीं देखेको छैन’ उनले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलाफमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ । म किन राष्ट्रघात गरौंला ।’ प्रधानमन्त्री देउवाको भनाई छ ।

कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसीबारे सत्तारुढ दलहरुबीच छलफल भइरहेको बताएका थिए । एमसीसी नेपालको हितमा भएको प्रधानमन्त्रीको जिकिर छ । ‘वर्ल्ड बैंक एडीबीबाट हामी ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी सित्तैं आएको छ, नेपालको कानून मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपर्‍यो क्या ’ प्रधानमन्त्रीको भनाई थियो । व्यापक छलफल भएर सहमतिका आधारमा एमसीसी पास हुने आफ्नो विश्वास रहेको उनको विश्वास छ ।
एकता जोगाउन नसकिएकोमा पछुतो छः पोखरेल
एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् । महासचिव पोखरेलले कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण पार्टी एकता जोगाउन नसकेको बताएका हुन् । उनले कार्यनीतिमा देखिएको भिन्न मतका कारण वामपन्थी आन्दोलन गलत दिशामा गएको बताए ।

नेताहरुको अन्तरकलहमा आधारित नीति बनाउने र त्यसैमा बहकिने प्रवृत्तिबाट वाम आन्दोलन अगाडि बढ्न नसक्ने पोखरेलको भनाई थियो । उनले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताए ।
अव पछाडि फर्किने अवस्था छैन्ः नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् । उनले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताएका हुन् । नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरुबीच छलफल गर्न जरुरी रहेको नेपालको भनाई छ ।

नेपालको राजनीतिक इतिहासमा दलहरू एकताबद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए । राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो छलफल र बहस आयोजना गर्न सुझाव समेत दिए ।

कार्यक्रममा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले संसद अवरुद्ध गरेर केही प्राप्त नहुने बताएका छन् । अब संसदको अवरोध हटाएर सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिएका थिए । अध्यक्ष यादवले दिपावली गर्नेहरुको मात्र होइन, ब्ल्याक आउट गर्नेहरुको पनि अपनत्व दिलाउन संविधान संशोधन गर्नुपर्ने बताए । अध्यक्ष यादवले संघीय गणतन्त्रको विकल्प अरु कुनै तन्त्र हुन नसक्ने बताए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमसीसी, #माओवादी केन्द्रको आठौं महाधिबेशन

तपाईको कमेन्ट लेख्नुहोस्