Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

कसको स्वार्थमा दरवार स्कुलले चलायो प्राङगनमै पार्किङको धन्दा


काठमाडौं । चीन सरकारको अनुदानमा बनेको काठमाडौं महानगरपालिका वडा नम्बर २७ स्थित दरबार हाईस्कुल यतिबेला पार्किङस्थल बनेको छ । विदेशी अनुदानमा चिटिक्क बनाइएको दरबार हाइस्कुलमा मोटरसाइकलको चाङ नै देख्दा सबै आश्चार्यमा परेका छन् । सुनदेखि नुनसम्म पाइने काठमाडौं उपत्यकाका असन, इन्द्रचोकमा तिहारमा बढ्ने भिडभाडलाई मध्यनजर गर्दै कार्तिक १४ गतेदेखि २० गतेसम्म बिद्यालय प्राङगन मोटरसाइकल पार्किङस्थल बनाउने निर्णय महानगर, दरबार हाईस्कुल प्रशासनले गरेको देखिन्छ ।

सुरुमा निशुल्क भनिएको पार्किङको शुल्क उठाउन असन कमलासी टोल सुधार समिति नामक संस्था दरबार हाइस्कुल पुगेको थियो । सो संस्थाले बिद्यालयमा गरिएको पार्किङमै प्रतिघण्टा २० रुपयैयाका दरले भटाभट शुल्क उठाइरहेको भेटिएको छ । अहिले जहाँ बिद्यालयले समेत आफूले २० हजार पाउनुपर्ने दाबी गरेपछि बिद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेलले सहमति पत्रमा हस्ताक्षर गरेकी छन् ।

बिद्यालयलाई पार्किङस्थल बनाउदै मनोमानी ढंगबाट शुल्क उठाउदा बिद्यालयकै बेइज्जत भएको भन्दै आलोचना भइरहेको छ । सडक बेचेर पार्किङ बनाएर खान पल्केको महानगरको नगर प्रहरीले समेत बिद्यालय खुला रहने र पार्किङ गर्न मिल्ने सूचना प्रकाशित गरेको छ ।

पार्किङबारे जवाफ माग्दा आ–आफनै तर्क
चिन सरकारले निमार्ण गरिदिएको भवनमा हाल दुई वटा विद्यालय सञ्चालनमा रहेका छन । भानु मावि र संस्कृत मावि कार्तिक १२ गते बसेको सर्वदलीय बैठकमा भानु माविका प्रधानाध्यापक शारदा कुमारी पौडेल सहभागि भएपनि संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीलाई सहभागि गराइएन ।

विद्यालय प्रधानाध्यापक पौडलले सर्वदलीय बैठकमा तिहारलाई लक्षित गर्दै उपभोक्तालाई निशुल्क पार्किङ सञ्चालन गर्न सहमति भएपनि रकम उठाएको आफुहरुले थाहा पाएपछि सबैलाई बैठकमा बोलाएर छलफल गरेर त्यसको विरोध गरेको नाटक मञ्चन गरिन । स्थानीयसँग सहकार्य गर्न बाध्यता रहेकाले आफुहरुले पनि पार्किङबाट उठेको रकममा दाबी गरेपछि २० हजार रुपैयाँ दिने सहमति गरेको उनले स्वीकार गरिन । तर, उनले महानगरको शिक्षा शाखालाई भने यस बारे कुनै जानकारी र सर सल्लाह नगरेको बताइन ।
संस्कृत माविका प्रधानाध्यापक अनबिज्ञ
पार्किङस्थल बनाइको बारे संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारी भने आफुलाई बैठकबारे कुनै जानकारी नभएको र यो निर्णय कसरी भयो भन्नेबारे आफु नै अनविज्ञ रहेको बताउछन । तर, आफु विद्यालयमा आउदा पार्किङ गरिरहेको र शुल्क उठाएको देखिपछि आफु समेत आश्चार्यमा परेको बताए ।

उनले भानु माविका प्रधानाध्यापक पौडेलसँग बुझेपछि मात्र आफुलाई जानकारी भएको बताउदै आगामी दिनमा दुवै विद्यालयको सहमति र विद्यालय ब्यवस्थापन समितिको बैठक विना यस्ता कार्यहरु नगर्न र हाल भएको कार्यको विरोध समेत गरे ।
महानगर शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीलाई नी छैन् जानकारी
काठमाडौं महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले भने आफुहरुलाई पार्किङस्थल बनाइएकोबारे कुनै पनि जानकारी नआएको बताए । हाम्रो प्रश्नपछि उनले विद्यालयसँग अनौपचारिक रुपमा बुझ्दा तिहार लक्षित समयमा भिडभाड हुने भएकाले भिडभाड कम गर्न ब्यवस्थापन गर्न र विद्यालय समेत विदामा भएकाले सुरक्षा निकाय, वडा र विद्यालय विच छलफल भएर पार्किङ सञ्चालन गर्न दिएको बताउदै उनी पन्छीन खोजे । महानगरको नजिकै रहेको बिद्यालयमा खुलेआम लुट मच्चीदा थाहा नभएको बताउनु नै लाजमर्दो हो ।
वडा अध्यक्ष चिनियामान बज्राचार्य भन्छन् निशुल्क पार्किङ हो
काठमाडौं महानगरको वडा नम्बर २७ मा सञ्चालन रहेका दरवार हाई स्कुलमा भइरहेको पार्किङ धन्दाबारे वडा अध्यक्ष चिनियामान महर्जनले भने आफुहरुले निशुल्क पार्किङ सञ्चालनका लागि अनुमति दिएको दाबी गर्छन् । सशुल्क पार्किङ सञ्चालन गर्न अनुमति नदिएको अध्यक्षको जिकिर छ ।

बैठकमा काठमाडौं महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगर प्रहरी परिचालन गरेर ब्यवस्थापन गर्न बताएपनि ब्यवहारमा भने उपभोक्तासँग रकम उठाउने काम भएको गुनासो आफुसँग आएको बताएर पन्छिन्छन् । उनले नै पत्र लेखेर पार्किङ खुल्ला भएको जानकारी गराएका थिए । पार्किङका नाममा लुट मच्चाउदा समेत नगर प्रहरी रमिते बन्दा उसको मिलेमतो छैन भनेर कसरी पत्याउने ।
मेयर बिद्यासुन्दर शाक्य भन्छन् अनुमति दिइएको छैन्
महानगरका मेयर विद्यासुन्दर शाक्यले भने आफुहरुले तिहार लक्षित गरेर खुल्ला मञ्च समेत खुल्ला गरेको र जहाँ जहाँ भिडभाड हुन्छ त्यहाँ ब्यवस्थापन गर्न वडा अध्यक्षलाई निर्देशन दिइएको बताए । उनले सुशुल्क पार्किङ गर्न आफुले अनुमति नदिएको भन्दै पन्छीए ।

पार्किङ शुल्क लिएर कमाउ धन्दा चल्ला समेत यहाँ त सबै तै चोर मै चोर जस्तै एकले अर्कालाई गल्ती देखाउदै पन्छीने मात्र काम गरिरहेका छन । बिद्यालयको प्राङगनमा पार्किङस्थल बनाएर पैसा उठाएर लुट्न पल्केकाहरुमाथि के कारवाही होला ? महानगरको नगर प्रहरी किन गैरजिम्मेवार बन्यो । जहाँ पनि लुट्नै पल्केकाहरुलाई आखिर कसले खबरदारी गर्ने ? बिद्यालयको प्राङगनमा नै पार्किङ गर्न दिनेहरु र पार्किङ गरेर पैसा उठाउनेहरुको मिलेमतो छैन् भनी कसरी बिश्वास गर्ने ?


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #दरबार हाईस्कुल, #पार्किङस्थल

तपाईको कमेन्ट लेख्नुहोस्